खबरज्योती
४ चैत्र २०७४, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका– १ स्थित यार्सा–लाप्ते मोटरबाटो सम्पन्न भएको छ ।
नगरपालिका र स्थानीयहरुको सहयोगबाट १ हजार ७ सय मिटरको सडक निर्माण सम्पन्न गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष दावा तामाङले बताए । ‘बाटो नभएका कारण यो ठाउँको विकास हुन सकेको थिएन’, उनले भने– ‘अब यहाँको उत्पादनले बजार पाउने आशा गरेका छौं ।’
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमासिं तामाङले सो मोटरबाटोको निरीक्षण गरे । ‘निक्कै राम्रो सडक बनाउनु भएको छ’, निरीक्षण पछि तामाङले भने– ‘अब यसको स्तारोन्नतीमा पहल गर्दै संरक्षण गर्न आवश्यक छ ।’ विकासको लागि स्थानीय माहुरीजस्तै एकताबद्ध हुन जरुरी रहेको बताउँदै तामाङले सो ठाउँको विकास र सडकको स्तारोन्नतीको लागि नगरपालिकाले पहल गर्ने बताए ।
निरीक्षण पछि चौतारा साँगाचोकगढी नगरपालिका– १ का वडाध्यक्ष सानुकान्छा तामाङले मोटरबाटो बनेका कारण यहाँका स्थानीय उत्पादनबाट आम्दानी गर्न स्थानीयलाई आग्रह गरे । ‘विकास भएर मात्र हुँदैन’, उनले भने– ‘उनले भने– ‘त्यसको सदुपयोग पनि हुन पर्छ ।’ आउने वर्षहरुमा बाटोको स्तरोन्नतीको लागि वडाले विशेष पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
१ हजार ७ सय मिटर सडक निर्माणमा १८ लाख रुपैंया लागेको सडक समितिले जनाएको छ । जसमध्ये ५ लाख रुपैंया स्थानीयबाट संकलन गरिएको समेत जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस