खबरज्योती
४ चैत्र २०७४, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १ सिम्पालकाभ्रेका २ सय ५० परिवारलाई प्रदेश नं= ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले उज्यालो प्रदान गरेका छन् ।
सिम्पालकाभ्रेका २ सय ५० परिवारलाई मन्त्री दुलालले सौर्य उर्जा (सोलार) प्रदान गरेका हुन् । मन्त्री दुलालको पहलमा चीन सरकारबाट भूकम्प प्रभावित क्षेत्रका लागि प्रदान गरेको सौर्य उर्जा सिम्पालका नागरिकहरुलाई प्रदान गरिएको हो । नेपाल सरकार र चीन सरकार बीच पारिस्थितिकिय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम कार्यन्वयनको लागि सम्झौता भए बमोजिम १० वाटको सौर्य उर्जा सिम्पालकाभ्रेमा प्रदान गरिएको हो ।
त्यस्तै इन्द्रावती गाउँपालिका– १ को वडा कार्यालय, स्वास्थ्य चौकी र सिम्पालेश्वरी माध्यमिक विद्यालयलाई १ हजार २ सय वाटको सौर्य उर्जा प्रदान गरिएको छ ।
सौर्य उर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री दुलाले चुनावको समयमा गरेको विकासको बाकस ल्याउँने बाचालाई पुर्याएको बताए । ‘मैले चुनावको समयमा तपाईंहरु समक्ष विकासको बाकस लिएर आउँछु भनेको थिएँ । विकासको कोसेली स्वरुव शौर्य उर्जा लिएर आएको छु,’ उनले भने– ‘मैले मेरो प्रदेशको विकासको सुरुवात सिम्पालकाभ्रेबाट गरेको छु ।’आफु मन्त्री भईसकेपछि आवश्यकताको आधारमा विकासको खाका तय गरेको बताए । ‘यस अघि पहुँचको आधारमा विकास हुने गर्थ्यो,’ उनले भने– ‘त्यहि आधारमा विकासको योजना बनाएको भए यहाँ यो शौर्य उर्जा आउँदैनथ्यो । तर मैले विकासको नौलो खाका बनाएको छु । अब विकास पहुँचको आधारमा हैन आवश्यकताको आधारमा हुन्छ ।’
आफ्नो कार्यकालमा विकासको लागि मेहनत गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री दुलालले शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, खानेपानी, विजुलीको क्षेत्रमा प्रदेशलाई छिट्टै विकशित तुल्याउने बताए । ‘अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई माध्यमिक अध्ययन पछि विदेशिने बनाउँछ’, उनले भने– ‘अब म त्यस्तो हुन दिन्न, विद्यार्थी, युवाहरुले देशमै रोजगारी पाउनेछन् ।’ त्यसको लागि आफुले बैज्ञानिक शिक्षा नीति बनाउँने र शैक्षिक पाठ्यक्रमनै फेरि जनवादी, व्यवहारिक, व्यवसायीक, प्राविधिक शिक्षाको तयारी गरिरहेको बताए ।
सिन्धुपाल्चोकलाई यहि वर्षभित्रै काठको पोल मुक्त जिल्ला बनाउने तयारीमा आफुहरु लागेको बताउँदै मन्त्री दुलालले सिम्पालकाभ्रेमा यहि साता २ सय ७० थान स्टिल पोल, ट्रान्सफर्मर र तार आईपुग्ने बताए । ‘मैले यहाँ विद्युतको लागि आवश्यक पर्ने पोल, तार, ट्रान्सर्फमरको लागि आएको फाईल स्वीकृत गरिसकेको छु’, उनले भने– ‘एक साता भित्र यहाँ आई पुग्छ ।’ सिम्पालकाभ्रेको सडक पिचको लागि आफुले पहल गरिरहेको बताउँदै आफ्नो कार्यकाल भित्र सो काम भईसक्ने उनले जनाए ।
आफुहरु अन्धकारमा बसिरहनुपरेको अवस्थामा सौर्य उर्जा पाएपछि निक्कै खुसी भएको स्थानीय नेत्रलाल लामाले बताए । ‘बत्ति त आएको थियो, काठको पोल हावाहुरीले थुप्रै ठाउँमा ढालेपछि अन्धकारमा थियौं’, उनले भने– ‘अब उज्यालोमा बस्न पाईने भयो ।’
‘बिजुली नहुँदा विद्यार्थीको अध्ययन र स्वास्थ्य चौकीमा निक्कै समस्या देखिएको थियो’, स्थानीय अगुवा दावा तामाङले भने– ‘अब त्यो समस्याबाट मुक्ति पाईएको छ ।’
सौर्य उर्जा वितरण कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी अधिकृत रामप्रसाद धिताल, इन्जिनियरहरु, जनप्रतिनिधि एवम् स्थानीयको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस