हो मलाई मान्छे भएर बाँच्न सारै रहर छ । मलाई मान्छे भएर पनि पशुलाई जस्तो व्यवहार गरियो । सिन्धुपाल्चोक सिपापोखरेका केशव रोक्काको (१८) को भनाई हो यो । उनी जतीबेला २०६९ सालमा सिपापोखरे स्थित राजेश्वरी उमाविबाट छिमेकी गाविस भोटसिपामा रहेको चण्डेश्वरी उमाविमा एसएलसी दिनजादा कोठा दिईकन सार्की भन्ने थहा पाएर त्यहाँबाट निकाले पछि निराश हुँदाको भनाई थियो । मलाई मान्छे सबै समान भएको हेर्न रहर छ । कसैले कसैलाई विभेद नगरेको हेर्न रहर छ ।
त्यो भन्दा फरक थिएन, सिन्धुपाल्चोककै साइली दमिनीको (६५) उनी सुग्घर सफा बनेर हिँड्थिन । खाना राम्रो होईन सफा खानु पर्ने उनको चाहाना थियो । एक दिन चिया खाना पसलमा निस्किएको रहिछन् । त्यहाँ एकजना सन्यासी जातको मान्छे, आरनमा काम गर्दै गरेको कामीले लगाएजस्तो लुगा लगाएको, खुट्टा जन्मे देखि नधोएको जस्तो जो व्यक्ति खुट्टा हल्लाउदै चिया खादै फलानो कामी र तिलानो दमै भन्दै गफ गरिरहेको थियो । त्यो उनलाई चित्त बुझेनछ । त्यसैले उनी भन्दै थिईन त्यो भन्दा म सफा छु । मैले राम्रो लगाएको छु । किन हामिलाई कामी भनेको होला ? किन हेला होचो गरेको होला ? उनी थप्दै थिईन हामी पनि चिया खायर गिलास नमाझी हिड्ने दिन कहिले आउला ?
अर्का युवा सिन्धुपाल्चोक कर्थली, ९ सिम्लेका उमेश विश्वकर्माको (२३) भनाई यस्तो थियो । कसैले कसैलाई विभेद गरेको देखे त्यसको मासु पकाएर खानु जस्तो लाग्छ । उनको यो आक्रोश २०६८ सालमा जन्त गएको ठाउमा संगै भोज खाएको भनेर स्थानीय गोविन्द राउतले कुटेपछि आएको हो ।
यो त केहि प्रतिनीधि घटनामात्र हो । यस्ता अनगिन्ती घटनाहरु हामीले देख्दै र भोग्दै आएका छौं । यस्ता घटनावाट पूर्व मेचीदेखि पश्चीम माहाकालीसम्म काँही कोहि अछुतो छैन । दलितले छोएको पानी चल्दैन, दलित भनेको सानो जात हुन भन्ने त मैले अनुभब गर्न सक्ने भएदेखिनै सुन्न थालेको थिए ।
जब अलि बुझ्न सक्ने भए त्यस पछि एकदिन मैले दिएको जुठो ढीडो र मैले हगेको आची खाएको कुकुर घर भित्र निर्वाध पस्थो तर मलाई पस्न दिईदैनाथ्यो । जुन टुलुटुलु हेरेर बस्थे । विद्यालयमा पढ्दै गर्दा एकदिन गाउँकै उपल्लो जातीको महिला मलाई देखेर सानोजातीलाई देखेर हिड्यो भने साईत पर्दैन भन्दै घरतिरै फर्केको देखे ।
अलि ठूलो भएपछि मानसिक सन्तुलन गुमाई सकेको मान्छेले पनि कामी भन्ने नबिर्सीएको थाहा पाएँ । बसमा सिट दया गरेर छाडिदिए तर उसले मलाई ठूलो जातको भनेर छाडिदिएको भनेर घमण्ड गरेको पनि देखे । म निरिह भएर हेर्नु सिवाय अरु केहि गर्न सकिन ।
यि प्रतिनीधि घटना मात्रै हो । यो छोटो समयमानै अनगिन्ती घटना परिघटनासँग साक्षत्कार गर्ने अवसर पनि प्राप्त गरे । दलित मान्छे हो त्यसो हो भने किन ? दलितले मान्छे भएर बाँच्न नपाउने ? दलितको मान्छे भएर बाच्न पाउने अधिकार छैन ? हो त्यसो हो भने दलितले खोजेको देश त्यही हो दलितले पनि मानव भएको प्रत्याभूती गर्न पाओस् । कानुनी राज्यको प्रत्याभूती गर्न पाओस् ।
हामी मन्दिरको गजुर बनाउँछौं, त्यसैले मन्दिर सजाईन्छ । त्रिसुल बनाउछौं देउतालाई चढाईन्छ, घण्टा बनाउछौं मन्दिरमा बजाईन्छ, त्यसकारण हाम्रो सीप र परिश्रम परेको मन्दिरमा पस्न चाहान्छौं तपाई पस्न दिनुहुन्न तपाई त प्रयोग गर्ने मात्र हो, हामी त सीपका धनि पनि हौं हो त्यहाँ सबैले समान उपभोग गर्न पाउनुपर्छ त्यहि हो दलितले खोजेको देश ।
हामी सुनका विभिन्न गरगहना बनाउछौं, थिच्चौं, किच्चौं, कुल्चन्छौं, तपाई त्यहि लगाएर ठाँटिनुहुन्छ, त्यहि सुनपानी खाएर चोखिनुहुन्छ । हामीले बनायको सुनले पखालेको पानी चल्ने हामीले छोएको पानी नचल्ने ? हो पानी पनि चलोस् भन्ने चाहान्छौं । त्यही हो दलितले खोजेको देश ।
हामी खाना पकाउने, खाने सरसामान थिच्चु, मिच्चु, कुल्चन्छु र कडा परिश्रमका साथ बनाउछौं त्यहि भाडामा पकाएको खानुहुन्छ, हामीले छोयको खानुहुन्न । त्यो पनि चलोस् त्यही हो दलितले खोजेको देश । हामी जुत्ताबनाउछौं तपाई त्यहि लगाएर हिँड्नुहुन्छ, हामीले बनाएको जुत्ता चल्ने, हामीले छोएको नचल्ने ? सबै चल्नुपर्छ, त्यहि हो दलितले खोजेको देश ।
हामी कपडा सिलाउछौं हामीले सिलाएको कपडा हरेक तिथि, श्राद्ध, लगायत चाड पर्वमा चल्छ । हो त्यसैगरी छोएको पनि चलो, त्यहि हो दलितले खोजेको देश । हामी तपाईको विवाह वर्तमानमा बाजा बजाउछौं, त्यसको लागि हामी अगाडि लाग्दा हुन्छ, तर तपाई बाजा बजाउदा अगाडि लाउनुहुन्छ खाना खान तीनकान्ला मुनि राख्नु हुन्छ । सबै सँगै बसेर खाने दिन आओस्, त्यहि हो दलितले खोजेको देश ।
५ फागुन २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस