खबरज्योति
४ माघ २०७४, सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकाले आफ्नो वडा जोड्ने मूख्य सडकहरुलाई बाह्रै महिना सञ्चालनमा ल्याउने भएको छ ।
हिउँदमा मात्रै सञ्चालनमा आउने र वर्खा लागेपछि बन्द हुँदै आएका सडकहरुलाई स्तारोन्नती गरी बाह्रै महिना सञ्चालनमा ल्याउन लागिएको हो । पालिका भित्रका सातै वटा वडा जोड्ने मूख्य सडकहरुलाई हाल स्तारोन्नती गर्ने काम भईरहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । वर्खामा सवारी साधन गुड्न नसक्ने सडकहरुलाई फराकिलो बनाई सोलिङ गर्ने काम भईरहेको उनले बताए ।
पालिका भित्रका सडक लगायत विकास निर्माणका लागि आवश्यक पर्ने स्काभेटर (डोजर) र जेसीभीसमेत गाउँपालिकाले खरिद गरिसकेको छ । पालिकाको आफ्नै स्काभेटर भएपछि अब मोटरबाटो उपभोक्ता समितिले बाटो सफागर्न चिन्तालिन नपर्ने भएको छ । ‘अब हामी पालिकाभित्रका मोटरबाटो मर्मत गर्न पैसा होईन् स्काभेटर पठाउँछौं’, गाउँपालिकाका अध्यक्ष शेर्पाले भने– ‘पालिका भित्र स्काभेटरको काम नभएको बेला हामी त्यसलाई भाडामा लगाई त्यसबाट भएको आम्दानीलाई पालिकाको आन्तरिक स्रोतमा जम्मा गछौं ।’ पालिकाको आफ्नै स्काभेटर भएपछि अब महंगो दरमा डोजर भाडामा लिनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस