२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

निर्माण सामग्रीको मूल्यबृद्धिले भूकम्पपीडित मर्कामा

Thumbnail
  • २०७४ पौष १३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    १३ पौष २०७४, सिन्धुपाल्चोक ।

    व्यवसायीले निर्माण सामग्रीको भाउ ह्वात्तै बढाएकोले नयाँ घर बनाउन तल्लीन जिल्लाभरका भूकम्पपीडित मर्कामा परेको पाइएको छ ।

    नदीजन्य पदार्थ बालुवा, गिटी, रोडा, ढुंगा र हार्डवेयरका सामान रड, सीमेन्ट, जस्तापातालगायतका सामग्रीमा व्यवसायीले लापर्बाही ढंगले मूल्यबृद्धि गरेकोले भूकम्पपीडित मर्कामा परेका हुन् ।

    पोहोर साल एक ट्रिप गिटीको ६ देखि ८ हजार र बालुवाको मूल्य १० हजारमात्रै थियो । तर, यो वर्ष बालुवाको भाउ दोब्बर भएको छ भने गिटीको मूल्य १० देखि १२ हजारसम्म लिने गरिएको छ । नयाँ घर निर्माण एकैपटक परेकोले ढुवानीका लागि पीडितले ट्रक र ट्रिपर साहुले जति भन्छन् उति नै रकम तिर्नुपरेको छ ।

    जिल्लामा एक दर्जनजति क्रसर उद्योग छन् । ती उद्योगमा गिटीको भाउ फरकफरक रहेको पाइएको छ । सुनकोसी र इन्द्रावती नदीबाट ५० किमि दूरीमा ठूलो ट्रिपरले बालुवा पुर्याउँदा भूकम्पपीडितले २५ हजार तिर्नुपर्छ । पहिलो किस्ता अनुदान लिनेले पुस मसान्तसम्म नयाँ घरको डिपिसी गर्नुपर्ने सरकारी नियमका कारण जिल्लाभरका भूकम्पपीडितले एकैसाथ घर बनाइरहेका छन् । अहिले सबैलाई निर्माण सामग्री चाहिएकोले त्यसको फाइदा उठाउँदै व्यापारी र व्यवसायीले जथाभावी मृल्यबृद्धि गरिरहेका छन् ।
    जिल्लाका बजारहरु चौतारा, बाह्रबिसे, मेलम्ची, खाडिचौर र जलवीरेमा हार्डवेयरका सामग्री अभाव भएकोले पीडितले एक हप्ता कुरेर महंगोमा सीमेन्ट, रडलगायतका सामग्री खरिद गर्न बाध्य भएका छन् । भूकम्पपीडितलाई निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गराएर व्यापारीले ठग्ने गरेका छन् ।

    यो वर्ष नदीमा कम बालुवा आएकोले मूल्यबृद्धि भएको व्यवसायी सुन्दर माझीले बताए । नदीमा बालुवा सिद्धिसकेकोले भूकम्पपीडितले चर्को मूल्य तिर्नुपरेको उनले जनाए । ‘पांगो माटो मिसिएको बालुवालाई २५ हजार तिरेर ल्याएको छु,’ घर बनाउन धेरै गाह्रो भएको बताउँदै चौतारा नगरपालिका– १ स्याउलेकी विदूवा महिला पार्वती थापाले भनिन्, बालुवामात्रै होइन इँटा, रड, सिमेन्ट सबै सामग्रीमा हामी ठगिएका छौं ।’ घर बनाउन परेको मर्काबारे न त स्थानीय तहका जनप्रतिनिधिलाई चासो छ न त स्थानीय प्रशासनले बजार र नदीआसपास रहेका उद्योगको अनुगमन गरेको छ । भूकम्पपीडितलाई नदीजन्य पदार्थ खरिदमा किन यसरी ठगेको भन्ने प्रश्नमा क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष किरण थापाले भने, ‘गिटी र बालुवामा मूल्यबृद्धि भएको पाइएमा व्यवसायीलाई तत्काल कार्बाही गर्न स्थानीय प्रशासनलाई भन्नेछु ।’

    राजनीतिक दलका नेता, प्रहरी र प्रशासनका ठूला तहका कर्मचारी र गुण्डालाई महिनापिच्छे पैसा दिनुपरेकोले व्यवसायीले नदीजन्य पदार्थमा जथाभावी भाउ बढाएको पाइएको छ । निर्माण सामग्रीको बजार भाउ अनियन्त्रित भएकोले भूकम्पपीडित चर्को ऋणमा डुबेका छन् । तीन वर्षदेखि टहरोमा कष्टकर जीवन व्यतित गर्दै आएका भूकम्पपीडितलाई सरकारी अनुदानको दोस्रो किस्ता प्राप्त गर्न निकै सास्ती भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस