खबरज्योति
२१ मंसिर २०७४, सिन्धुपाल्चोक ।
पहिलो चरण अन्र्तगत मंसिर १० गते सिन्धुपाल्चोकमा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना विहीबार ५ बजेबाट सुरु गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुईवटै प्रतिनिधिसभा सदस्यका मत गन्न थालिएका मूख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए । मत गणना मत कण्डारण गरिएको जिल्ला कृषि विकास कार्यालयको भवनमा गरिएको छ ।
जस अनुसार प्रतिनिधि सभा १ मा माओवादी केन्द्रका अग्नीप्रसाद सापकोटाको २ हजार ७८ र नेपाली कांग्रेसबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको १ हजार १ सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिनिधि सभा १ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर जबराको १ हजार २ सय ८८ र उनका प्रतिद्वन्दी नेकपा एमालेका शेरबहादुर तामाङको १ हजार ९८ मत प्राप्त भएको छ ।
३० घण्टा भित्रै दुबै प्रतिनिधिसभाको मतगणना सक्ने लक्ष्य रहेको मूख्य निर्वाचन अधिकृत खनालले बताए । त्यसपछि प्रदेशसभाको मतगणना थाल्ने बताईएको छ । प्रदेशसभाको मतगणना पनि २४ घण्टाभित्र सकाउने खनालले भने । सातादिन भित्र समानुपातिक मतगणना सक्ने खनालले बताए ।
दुईवटै प्रतिनिधिसभाको एकै पटक दुई स्थानबाट मत गणना थालिएको छ । एक सिफ्टमा १२ जना गणक कर्मचारी मत गणनामा खटिएका छन् ।
एक पटकमा दुईवटा मत पेटिका मिलाएर गनिएको छ । प्रतिनिधिसभा पिच्छे एक अधिकृतको टोलीले मतपत्र सर्टिङ गरिरहेको छ भने अर्को अधिकृतको टोलीले गणना गरिरहेको छ । एक कर्मचारीले स्वस्तिक छाप लागेको चिन्ह भनेपछि अरु दुई कर्मचारीले धर्सा तानी मत गनिरहेका छन् । अर्को एक कर्मचारीले धर्सा लगाएको हेरिरहेका छन् । मत गणनाको प्रत्येक सिफ्टको समग्र व्यवस्थापकीय जिम्मा उपसचिव स्तरको कर्मचारीलाई दिईएको छ ।
मत गणना नसकिएसम्म कर्मचारी र उम्मेदवारका प्रतिनिधि परिवर्तन गर्न नपाईने नियम बनाईएको छ । प्रत्येक उम्मेदवारका दुई जना प्रतिनिधि मतगणना स्थलमा जाने व्यवस्था गरिएको छ । उम्मेदवार मतगणना स्थलमा प्रवेश गर्दा एक प्रतिनिधि बसिरहनुपर्ने व्यवस्था गरिएको छ ।
सबै उम्मेदवार पार्टी प्रमुखलाई मावाईलबाट मत परिणाम थाहा पाउने व्यवस्था मिलाईएको छ । हरेक पटक मिसाएर गनिएको मतपेटीकाको परिणाम सकिएलगत्तै परिणाम सार्वजनिक गरिदै आईएको छ । मत गणनाको परिणाम मतगणना स्थल परिसरमा रहेको डिजिटल डिस्प्ले बोर्डद्वारा सार्वजनिक गरिदै आएको छ । बोर्डमा सबै उम्मेदवारले प्राप्त गरेका मत देख्न सकिन्छ ।
मतगणना स्थलमा तारजाली लगाईएको छ । तारजाली भित्र गणक कर्मचारी र बाहिर उम्मेदवारका प्रतिनिधि रहेर मत गणना गरिरहेका छन् । प्रतिनिधिले मतपत्र र त्यसमा लगाईएका स्वस्तिक छाप देख्न सकेको बताईएको छ । तर मतपत्र छुन नसक्ने बनाईएको छ ।
मत गणना सम्बन्धि, म तबदर भए, मत सदर गर्नु परे र प्रतिनिधि खटाउने विषयमा उम्मेदवार र निर्वाचन आयोगको कर्मचारी बीच १२ बुँदे समहति गरिएको छ । सहमतिकै आधारमा मतगणना अघि बढाउने सहमति भएको मूख्य निर्वाचन अधिकृत खनालले बताए ।
कुल २ लाख २६ हजार ५ सय १५ मतदाता रहेको सिन्धुपाल्चोकमा १ लाख ५६ हजार ७ सय ४३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाता संख्याको ६८ दशमलव ८७ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस