मलाई खुशीहरुको स्वरुप पनि सानो लाग्छ । र दुःखको पनि । सानो अति सानो कुराहरुले मलाई अति धेरै दुःखी र अति धेरै सुखी तुल्याउँछ ।
१. २ दशक बढी भयो– मैले उनलाई देखेको । उनको एउटा गोलीगाँठो देखि बाँकी (खुट्टा) पैतला नै छैन । घोडाको टाप जस्तै टाप लगाएर उनी जीवन चलाई रहेका छन् । यो उमेर, यो उनको अवस्था । उनको मनमा केके खेल्दो हो ? उनलाई आफ्नो जीवन प्रति कुनै गुनासो होला नहोला । तर्कना अनेक आउँछ । उनले यसैगरी कति माइलको दुरी तय गरे होलान् ? ति फासलाहरुमा आँसु पनि झरे होलान् । यी उबड–खाबड बाटाहरुमा हिँड्दै गर्दा विस्तारबादीहरुका सिंगवाला गाडि तथा अन्य साहूमहाजनका एवम् नयाँ नेपालका अधिपतिहरुको चिल्ला, सिङ्गवाला गाडिहरुले दुनदुनाउँदै उनलाई कति धुवाँ–धूलो ख्वाए होला ? उनलाई र उनीहरु जस्ताका कारुणीकतामा सयर गर्नेहरुले नै उनलाई धूवाधूलो ख्वाएको उनलाई थाहा होला नहोला ? तर्कना अनेक ….
२. खासै पोषण पुगेको जस्तो थिएन । सुकेनास लागेको जस्तो नानी च्यापेर म भन्दा अघिअघि गर्ने एउटा बाबु । किन कहाँ लान होला ? अस्पताल लान लाग्या भए के काम र यहाँ यिनले के उपचार वा संवोधन पाउलान्– अस्पताल आफैंमा विरामी छ । सुकेनासले ग्रस्त छ । शायद यि बच्चीको आमा वैदेशिक रोजगारमा गएकी हुन् र बाबुको काँधमा जिम्मेवारी आएको हो कि ? वा बच्चीकी आमा…. उफ् यो शरदीय ठीउमा पनि म असिनपसिन हुन्छु ।
निकै माथिसम्म म उनलाई पच्छाउँछु । बच्चीलाई इशाराले माया गर्छु । अपलक बच्ची मलाई गोचर गरिरहन्छे । उसको बाबुलाई पत्तो हुन्न । उल्लेखित जुनसुकै कैफियत भए पनि आम मान्छे हुनु, गरिब र विपन्न हुनु, बोलिदिने कोही नहुनु पराकाष्ठा न हो । तर्कना अनेक…..
३. निमुखा हुनुको, पढाइ नहुनुको, गरिव हुनुको, विपन्न हुनुको द्योतक हो । पत्रुभाडा वोकेर साहू भन्दा अघिअघि ऊ भरिया बनेर हिँडिरेको छ । चुनाव भन्दा अघिल्लो दिन । उसलाई किन चुनाब मोह भएन र गठजोड गरेर डम्म भएकाहरुलाई पनि उसको मतको मोह भएन । अब त मत(भोट) पनि नचाहिने कालजुग आएछ ।
यस्ता मजदुर भरियाहरुको भर्याङ्ग बनाएर मुलुक नयाँ बन्दै छ तर त्यही मजदुर बञ्चित छ । र शायद ऊ पनि विरक्तिएको छ– स्वाँठहरुका हौवा कुरा प्रति, झुठा आस्वसन प्रति । शायद त्यसैले होला अहिलेको निर्वाचनमा धेरै कम मत खस्यो रे ! अब पसिनामा बाँच्नेहरु, पौरखमा जीवन धान्नेहरुले जालीजालोको मृगमरिचिका भंग गरेर पसिनामा नै रुपान्तर हुने सोचेछन् । तर्कना
अनेक …..र म त्यसै दुख्छु । दुख्न यहाँ नाता चाहिन्न । र दुखाउन पनि शायद……
२०७४ मंसिर १७ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस