एक हातमा पुस्तक अर्को हातमा
मार्कर र डस्टर च्यापेर
कक्षा कोठासम्म पुग्दैछ
बूढो मास्टर ।
बग्छ नि:सर्त बग्छ
थाहा छैन यात्राको गन्तब्य कहाँ हो ?
उसकै बास्नाबाट स्वादिष्ट हुन्छ
सिकाइको त्यो शिविरमा
स्वाभिमान, आत्मसम्मान
राष्ट्रियता सहिष्णुता र मानवीयताका
पाठ्यक्रम र पाठ्यसामग्री निर्माण गर्दै
कथा, गीत, कविता गजलमा आस्वादन बाँड्छ
बाल भाबनामा बालमस्तिस्कमा
आँच नआउनेगरि अक्षरको बिउबाट
शब्दहरुको सप्तरङ्गी माला उनिरहे छ
बूढो मास्टर ।
अभावका असमेलआँधी भित्र
भित्र भित्रै
जीवनमा पीडाका घाउहरु
अपमान र तिरस्कारले मुटु जलाएर
एउटा सुन्दर चित्र कोर्छ
त्यो सुन्दर चित्र भित्तामा सजाउँदै
राष्ट्रियताको बाक्लो बर्को ओडेर बसेको देशमा
सात प्रदेशमा बिभक्त देशको
एकिकरणको इतिहास सुनाउछ
एउटा बूढो मास्टर ।
न उसको नाममा कुनै अस्पताल छ ?
न उसको नाममा छुट सुबिधा छ ?
निरिह नागरिकको एउटा नमुना
छात्ती चिरेर देखाउँदै
आफ्नै अर्तनाद मुटुको भल्भ आफ्नै खुस्किएको छ
छोराको मृगौला ड्यामेज छन्
डायोलासिस गर्न सक्तैन
बूढा बाबुलाई क्यान्सर भएर मृत्यु सँघारमा छन्
क्येमु किन्न सक्तैन
ग्याँस च्याम्बर भित्र श्वासप्रश्वास थुनेर
मृत्यु कुरेर मरेजस्तै
राज्यबाट मरिरहे छ ।
उफ ! तर पनि कक्षा कोठामै पस्छ
एकोहोरो सरसफाइ र स्वास्थ्यको पाठ घोकाइ रहेछ
आदर्शको मूल्य सिकौदा सिकाउदै व्यतीत समयमा
आफ्नै जीवनको मूल्य अपमानित भएको छ
वास्तवमा ब्यबहारिक पीडा लुकाउदै
सन्तुलन परीक्षण र वासलात सिकाउछ
आफ्नो परिश्रमको वहिखाता
लजित भइसकेको अबस्थामा
एउटै राज्यको बेतनी
सेना, प्रहरी र निजामतीका
आफू र आफ्ना बा, आमा, छोरा, छोरी र सन्तान
बिरामी हुँदा अस्पताल छ र त्यो नि:शुल्क छ
तर एउटा मास्टर सधै ज्योति बाल्छ
अनि साम्प्रदायिक देशको कुनै राज्यले
त्यसै देशको कुनै राज्यहिन नागरिक माथि
गोली बर्षाए जस्तै
एउटा मास्टरलाई व्यवहार गर्छ ।
सहनशीलताको शृङ्खला थाप्लोमा बोकेर चढिरहेछ
संघर्षको उकालो पहाड एउटा बूढो मास्टर ।
बलेफी गाउँपालिका ८ – लामोसाँघु, सिन्धुपाल्चोक
१७ मंसिर २०७४ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस