२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मतदाता शिक्षा कार्यक्रम शुरु, २ सय ८५ कर्मचारी परिचालित

Thumbnail
  • २०७४ कार्तिक २७, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

     पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै सिन्धुपाल्चोकमा मतदाता शिक्षा शुरु गरिएको छ ।

    प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुक्रबारबाट शुरु गरिएको हो । मतदाता शिक्षाका लागि जिल्लामा २ सय ८५ कर्मचारी परिचालन गरिएको छ । उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विजयकुमार कार्कीले जानकारी दिए ।

    सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको हो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलग अलग मतपत्र छापेर जिल्लामा पठाउँदा मददाता शिक्षा गाउँमा पुग्न ढिलाई भएको हो ।

    ‘मतदाता शिक्षा सामाग्री आएसँगै तालिम दिएर कर्मचारीलाई गाउँ गाउँ पठाईसकेका छौं’, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कार्कीले भने– ‘प्रत्येक निर्वाचन केन्द्रमा १ जना मतदाता शिक्षकको व्यवस्था गरेका छौं ।’ दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र गरी जिल्लामा २ सय ८५ वटा मतदान केन्द्र तोकिएको छ ।

    प्रतिनिधिसभा १ मा ८१ मतदान स्थलमा १ सय ५० केन्द्र निर्धारण भएको छ । जसमा प्रदेशसभा १ मा ४१ स्थल, ७८ केन्द्र र प्रदेश सभा २ मा ४० स्थलमा ७२ केन्द्र तोकिएको छ । त्यस्तै प्रतिनिधिसभा २ मा ६३ स्थलमा १ सय ३५ मतदान केन्द्र रहेको   छ । प्रदेशसभा १ मा २८ स्थलमा ६५ केन्द्र र प्रदेशसभा २ मा ३५ स्थलमा ७० केन्द्र तोकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस