खबरज्योति
२१ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १९ दिन मात्र बाँकी छ । दिन नजिएसँगै सिन्धुपाल्चोकमा चुनावी सरगर्मी बढेको छ ।
जिल्लामा मतदाताले पहिल्यै भोट हालेका उम्मेदवारदेखि ‘हेभिवेट’ भएका नेता पनि चुनावी मैदानमा छन् । त्योभन्दा धेरै उम्मेदवार पहिलो पटक चुनावको स्वाद चाख्न मातदाताको घरदैलोमा छन् ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको सिन्धुपाल्चोकमा स्वतन्त्र सहित १८ दलका चुनावी मैदानमा छन् । जसमा ४९ उम्मेदवार छन् । प्रतिनिधि सभा १ मा १३ र २ मा स्वतन्त्र सहित ९ दल मैदानमा छन् । त्यस्तै प्रतिनिधि सभा १ प्रदेशसभा १ मा ११, २ मा ८ र प्रतिनिधि सभा २ प्रदेशसभा १ मा ६ र २ मा १० उम्मेदवार भिड्दैन् ।
प्रतिनिधि सभा १ मा वाम गठबन्धतको तर्फबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका नेता अग्नी सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सूचना तथा सञ्चारमन्त्री रहेका कांग्रेसका नेता मोहनबहादुर बस्नेत मतदाताका लागि पुरानै अनुहार हुन् । उनीहरु ‘हेभिवेट’ नेता पनि हुन् । तर सोहि क्षेत्रबाट उम्मेदवार बनेका नयाँ शक्तिका श्यामबाबु गौतम, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीका साङडोल्मा तामाङ, आमुल परिवर्तन मसिहा पार्टीका सोम नोर्बु शेर्पा, ताम्सालिङ लोकतान्त्रिक पार्टीका लाक्पा दोर्जे लामा, एकीकृत राप्रपा (राष्ट्रवादी) का राजेन्द्र गिरी मतदाताका लागि नयाँ अनुहार हुन् ।
प्रतिनिधि सभा १ प्रदेश सभा १ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपाल लोकप्रिय नेता हुन् । उनीसँग थुप्रै नयाँ अनुहारले प्रतिष्पर्धा गदै छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्णुबहादुर खत्री व्यापारी हुन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष समेत रहेका खत्री चुनावी मैदानमा आक्रमक तरिकाले प्रस्तुत भएका छन् । त्यस्तै संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीका एलिना तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाका खड्गबहादुर थापा, संघीय समाजवादी फोरमका चिना लामा, जनप्रजातान्त्रिक पार्टीका सुदिप तामाङ र स्वतन्त्रबाट नयन्द्रबहादुर बोहोरा उम्मेदवार छन् । उनीहरु मतदाताका आँखामा नयाँ अनुहार हुन् ।
प्रतिनिधि सभा १ प्रदेश सभा २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता सरेश नेपाल उम्मेदवार छन् । नेपाल मतदाताका लागि पुरानै अनुहार हुन् । उनीसँग नेपाली कांग्रेसबाट राजेन्द्रकुमार श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन् । उनी नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै नयाँ शक्तिका नवराज श्रेष्ठ, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीका सिरे तामाङ, आमुल परिवर्तन मसिहा पार्टीका मनिक गहतराज, राष्ट्रिय जनमोर्चाबाट राजनकुमार न्यौपाने, जनसमाजवादी पार्टीका बुद्धकुमार श्रेष्ठ चुनावी मैदानमा नयाँ अनुहार हुन् ।
प्रतिनिधि सभा २ मा वाम गठबन्धतको तर्फबाट उम्मेद्वार रहेका एमाले नेता एवम् सांसद शेरबहादुर तामाङ र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा उम्मेदवार छन् उनीहरु मतदाताका लागि पुरानै अनुहार एवम् ‘हेभिवेट’ नेता पनि हुन् । यो क्षेत्रमा ‘२ शेर’ को कडा प्रतिष्पर्धा देखिएको छ । तर सोहि क्षेत्रबाट उम्मेदवार बनेका नयाँ शक्तिका विदुरप्रसाद चौलागाई, विवेकशील साझा पार्टीबाट जयराम भण्डारी, राष्ट्रिय जनमोर्चाका बालकृष्ण तिमल्सिना, एकीकृत राप्रपा (राष्ट्रवादी) का चन्द्रदत्त खतिवडा मतदाताका लागि नयाँ अनुहार हुन् ।
प्रतिनिधि सभा २ प्रदेश सभा १ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता युवराज दुलाल पनि मतदाताको लागि नयाँ अनुहार हुन । दुलाल पहिलो पटक चुनावको स्वाद लिँदै मैदानमा उत्रिएका छन् । जनमुक्ति सेनाका लडाकु एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पूर्व अंगरक्षक समेत रहेका दुलाललाई अन्य प्रतिष्पर्धि कमजोर रहेका कारण चुनाव जित्न सहज देखिएको छ । उनीसँग अन्य थुप्रै नयाँ अनुहारले प्रतिष्पर्धा गदै छन् । नेपाली कांग्रेसका विकास तामाङ, नयाँ शक्तिका चेतबहादुर तामाङ, जनसमाजवादी पार्टीका कालिबहादुर माझी, ताम्सालिङ लोकतान्त्रिक पार्टीका आसिक तामाङ चुनावी मैदानाम छन् । राप्रका दइन्द्रबहादुर ठकुरीले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी मतदाताका लागि पुरानो अनुहार हुन् ।
त्यस्तै प्रतिनिधि सभा १ प्रदेश सभा २ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवम् पूर्व सभाषद् दावा तामाङ उम्मेदवार छन् । तामाङ मतदाताका लागि पुरानै अनुहार हुन् । उनीसँग नेपाली कांग्रेसबाट निमा लामा, नयाँ शक्तिबाट भरत अधिकारी, संघीय समाजवादी फोरमकाट कृष्णबहादुर तामाङ, नेपाल जनता पार्टीबाट कुमार अधिकारी, नेकपा माले÷जनसमाजवादी पार्टीबाट चेतनाथ गिरी, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट देवीलाल गिरी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट राजुकुमार खड्का र स्वतन्त्र उम्मेदवार भरतप्रसाद चौलागाई चुनावी प्रतिष्पर्धामा छन् । उनीहरु चुनावी मैदानमा नयाँ अनुहार हुन् ।
प्रतिक्रिया दिनुहोस