२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धु संघर्षको रातो क्षितिज कमरेड : दावा तामाङ

Thumbnail
  • २०७४ कार्तिक १९, आईतबार मा प्रकाशित ७ साल अघि
    • गणेश वि.क. ‘ज्योती’

    कमलको फूल हिलोमा फुल्छ, तर सुगन्ध सबत्र छरिन्छ । संघर्ष सकसपूर्ण हुन्छ, तर जीवनमा सुन्दरता भरिन्छ । सुगन्ध र सुन्दरता सबैलाई प्रिय लाग्छ । तर संघर्षको समर नतरी सम्भव हुन्न । युद्ध समरमा संघर्ष झेल्ने आँट गर्नेहरु क्रान्तिकारी हुन्छन् । क्रान्तिले उत्पीडनलाई हेला गर्छ । त्यसैले उत्पीडितले क्रान्ति रोज्छ र जिन्दगीलाई दाउमा राखेर भएपनि भविष्य खोज्छ । वास्तवमा आफु र आफ्नो वर्गको सुन्दर भविष्यको खोजीका लागि श्रमजीवी मान्छेहरुले गर्ने एउटा महान् कर्म हो क्रान्ति । उत्पीडितहरु ब्यूँझिन गाह्रो छ, तर एकपल्ट ब्यूँझिएर उठेपछि क्रान्ति उत्कर्षमा पुग्छ । क्रान्तिले उत्पीडितहरुलाई मायाँ गर्छ, हुर्काउछ, बढाउँछ र नेताहरु तयार पार्छ । त्यसैले भनिन्छ, सर्वहारावर्गका नेताहरु आमाको कोखबाट होइन, वर्गसंघर्षको भट्टिबाट जन्मिन्छन् ।

    लेखक

    हो, हिलोमा फुलेको कमलको पूmल जस्तै उसको जीवन । उत्पीडनमा उन्निएको आफ्नो वर्गको भविष्य खोज्न जीवन संघर्षमा समर्पित गर्यो उसले । आमाको काँख र बाबुको बात्सल्य त बचपनमै गुमायो उसले । तर क्रान्तिको कोक्रोमा हुर्कियो र वर्गसंघर्षको भट्टिमा खारियो । बचपनमै बा–आमा गुमाएर पनि टुहुरो नभएको उ सिन्धुबासी जनताहरुले निकै प्यारले हुर्काएको छोरो हो । क्रान्तिको अक्करहरुमा ठक्कर खादैं जनताको आशालाग्दो नेता बन्न सफल उनी हुन् क. दावा तामाङ क्षितिज ।
    हुन त क. दावा तामाङ सिन्धुबासीका लागि अपरिचित नाम होइन । उनी सिन्धुको क्रान्तिकारी विद्यार्थी आन्दोलन र १० वर्षे जनयुद्धका एकजना चर्चित हस्ती हुन् । प्रस्तुत छ– तिनै जनप्रिय युवा नेता, संविधानसभामा प्रत्यक्ष निर्वाचित पूर्वसभासद र हाल नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा आसन्न निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश नं. २ का लागि सिन्धुपाल्चोक बामगठबन्धनका साझा उम्मेदवार क. दावा तामाङ ‘क्षितिज’को संक्षिप्त जीवनी–

    जन्म र पारिवारिक पृष्ठभूमि :
    क. दावा तामाङ सिन्धुको कम्युनिष्ट आन्दोलनमा स्थापित लोकप्रिय नेता हुन् । उनको जन्म २०३० साल चैत्र २८ गते भारतको आसाम राज्यमा पिता सञ्चमान तामाङ र माता ठूलीमायाँ तामाङको कोखबाट भएको थियो । मातापिता ज्याला मजदुरीको लागि प्रदेश गएको र त्यहीं उनको जन्म भएको हो । मातापिताको ३ सन्तानमध्ये उनी सबैभन्दा कान्छो हुन् । उनको अरु २ जना दिदीहरु छन् । जनयुद्धकै समयमा २०५९ सालमा मकवानपुरकी क्रान्तिकारी युवा नेतृ क. कुमारी मोक्तान ‘सम्झना’सँग बिवाह गरेका उनको एउटा छोरो छन् । क. क्षितिज र क. सम्झना २०६४ को संविधानसभा निर्वाचनमा पति÷पत्नीले नै प्रत्यक्ष चुनाव जित्ने ४ जोडीमध्येका एक हुन् ।

    पुर्खौली थाँतथलो
    क. दावा तामाङ नेपाली सर्वहारावर्गका प्रतिनिधि त हुन् नै, साथै नेपाली समाजमा निकै उत्पीडित र पिछडिएको मानिने तामाङ जातिको पनि प्रतिनिधि हुन् । उनी ‘गोले’ थरको तामाङ हुन् । उनको पुर्खाैली थलो सिन्धुपाल्चोककै गुन्सामा हो । उनका बाजे-बराजुहरु गुन्साबाट बसाई सरेर इर्खुमा आएका थिए । उनको हालको बासस्थान चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा हो । तर अहिले पनि गुन्सामा उनको रक्तसन्तान वा दाजुभाईहरुको ठूलै बस्ती छ ।

    गाउँको गरिबी, बाल्यकाल र शिक्षाः
    क. दावा तामाङको पठनपाठनको सुरुवात भारतको आसामबाट भएको थियो । उनले त्यहाँ कक्षा ३ सम्म अध्ययन गर्न भ्याए । २०३८ सालमा उनको परिवार आसामबाट नेपाल फर्कियो । त्यसपछि उनको बाल्यकाल इर्खुमा बित्यो । उनको परिवार गरीब थियो । पिता परिवारको मियो थिए । पिता निकै परिश्रमी थिए । आफू आधापेट खाएर भएपनि आफ्ना बालबच्चाहरुलाई अघाउन खोज्दथे । तर दैव पनि गरिबलाई नै लाग्दोरहेछ ! निर्दयी मृत्युले एउटा गरिब परिवारमा खुसी देख्न सकेन । मातापितालाई मृत्युले चटक्कै चुँडेर लग्यो । परिवारको मियो ढल्यो । खुसी लुटियो । उनी सानैमा टुहुरो भए । तैपनि दिदीहरु जाँगरिला थिए । ज्याला–मजदुरी, मेलापात र बनिबुतोको भरमा दिदीहरुले हुर्काए ।

    उनको परिवारलाई आफ्नो जमिनबाट ६ महिना मात्रै खान पुग्दथ्यो । बाँकी ६ महिना ज्याला–मजदुरी र निमेकको भरमा पालिनु पर्दथ्यो । नाडीमा माँसी छञ्जेल पेट भरिन्थ्यो । नत्र कयौ दिन आधा पेट खाएर चित्त बुझाउनु पर्दथ्यो । गाउँमा उब्जनी त्यति राम्रो थिएन । पेटभरि खान पनि रहर हुन्थ्यो । वर्षहरु आउथे, जान्छे । वर्षभरि झरी र पानीमा रुझेर काममा जोतिंदा पनि पेट पाल्न धौधौं हुन्थ्यो । टन्न खान र राम्रो लगाउन दशैं नै पर्खिनु पर्दथ्यो । त्यो बेला उनको पढ्ने उमेर थियो । छरछिमेकका साथीहरु खैलाबैला गर्दै स्कूल जान थाले । उनलाई पनि स्कुल जाने रहर थियो । तर साहारा थिएन । अरु स्कूल जान्थे । उनी आँगनको डिलमा उभिएर बेचैन आँखाले टुलुटुलु हेर्थे । त्यसबेला उनको मुटुमा भक्कानो फुटेर आउँथ्यो । आँखामा पिरो आँशु छचल्किन्थ्यो । कमिजको बाउलाको सप्कोले आँशु पुच्छ्दै मनमनै भन्दथे रे –‘थुईक्क मेरो जीवन ! मेरो पनि बुबाआमा नमरेको भए…….।’
    अन्ततः क. दावाको ज्ञानप्राप्तिको मोहलाई बिपत्तले पनि छेक्न सकेन । उनी गाउँकै स्कूलमा भर्ना भए । इर्खु भञ्याङ्स्थित विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरे । त्यसपछि सदरमूकाम चौतारास्थित श्रीकृष्ण रत्नगंगा मा.वि.मा भर्ना भई पढाई सुचारु गरे, र अन्ततः उनले २०४८ सालमा त्यहींबाट एस.एल.सी. उत्तीर्ण गरेका थिए ।

    प्रारम्भिक राजनीति
    हुन त क. दावा सानैमा टुहुरो बने र परिवार पनि गरीब थियो । तैपनि उनको परिवारमा राजनीतिक चेतना उठेको थियो । एकातिर उनका मातापिता लामोसमय भारतमा बसेकाले उनीहरुमा राजनीतिक चेतना र संस्कारको प्रभाव देखिन्थ्यो । अर्कातिर, उनका काका-बडाबाहरु पनि तत्कालीन पञ्चायती राजनीतिमा सक्रिय थिए ।

    क. दावाको ठूलो बा पञ्चायतकालमा गाउँ फर्क अभियानका सदस्य थिए । उनको काका २०३९ सालमा गाउँ पञ्चायतको प्रधानपञ्च नै भए । यसर्थ उनको परिवार वा बंशमा एक खालको राजनीतिक वातावरण थियो । परिवारको वातावरणले उनको दिमागमा पनि सानै उमेरमा राजनीतिक चेतना पलाउँन थाल्यो । उनी बिस्तारै राजनीतिप्रति आकर्षित हुन थाले । गरिबीको पीडा र पारिवारिक पृष्ठभूमिले उनको जीवनलाई राजनीतितिर डो¥याउन थाल्यो ।

    चर्चित विद्यार्थी नेता
    क. दावा जबदेखि हाईस्कूल पढन थाले, तबदेखि राजनीतिमा पनि सक्रिय हुन थाले । तर उनी जुन पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएका थिए, त्योभन्दा बिलकूलै अलग बैचारिक धाराबाट राजनीतिमा सामेल भए । उनको राजनीतिक जीवनको थालनी कम्युनिष्ट विचारधाराबाट भयो । त्यसबेला चीनको ‘महान सर्वहारा साँस्कृतिक क्रान्ति,’ भारतको ‘नक्सालवादी आन्दोलन’ र नेपालकै ‘झापा आन्दोलन’को तातो प्रवाह देशव्यापी फैलिएको थियो । यस्ता साहस र संघर्षका कथाहरुले उनको हृदयमा राजनीतिक चेतना जागरुक बन्दै गयो । खासगरी तत्कालीन परिबेशमा देशमा चलिरहेको पञ्चायत विरोधी संघर्ष र विद्यार्थी आन्दोलनले उनलाई आकर्षित गर्दै लग्यो । २०४३/०४४ सालदेखि नै उनी राजनीतिमा सक्रिय हुन थाले । २०४६ सालको जनआन्दोलनमा उनले सक्रियपूर्वक भाग लिएका थिए ।

    २०४६ साल पौषमा उनी तत्कालीन नेकपा मशाल निकट विद्यार्थी संगठनको स्कूल इकाई समितिमा संगठित भए । त्यसपछि उनको राजनीतिक जीवनले फड्को मार्दै गयो । २०४७ मा अखिल (क्रान्तिकारी) को जिल्ला सदस्य बनेका उनी, क्रमशः २०५० र २०५१ मा सम्पन्न छैटौं र सातौं जिल्ला सम्मेलनद्वारा लगातार २ कार्यकालसम्म विद्यार्थीको जिल्ला अध्यक्ष निर्वाचित हुन सफल भए ।

    विद्यार्थी संगठनको जिल्ला नेतृत्व सम्हालेपछि क. दावा तामाङ जिल्लाका आम युवा विद्यार्थीहरुमाझ निकै चर्चित् र लोकप्रिय नेता बने । उनले जिल्लाको क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई एउटा नयाँ उचाईमा उठाए । उनको कार्यकालमा जिल्लाका हरेक शिक्षण संस्था र गाउँ-टोलहरुमा संगठन निर्माण÷बिस्तारले एउटा उचाई छोयो । खासगरी जिल्लामा माओवादी धाराको विद्यार्थी आन्दोलन निर्माणको श्रेय उनैलाई जान्छ । किनभने त्यसबेला देशमा ‘जनयुद्धमा जाने कि नजाने’ भन्ने विषयमा पार्टीभित्र भीषण दुईलाइन संघर्ष चलेको थियो । त्यो संघर्ष २०५१ मा पुग्दा अन्ततः पार्टी विभाजित भयो । उनले जनयुद्धमा जाने क. प्रचण्डको कार्यदिशाको पक्षमा दृढतापूर्वक उभिएर जिल्लाको विद्यार्थी आन्दोलनमा माओवादी क्रान्तिकारी धाराको सशक्त ढंगले वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्व गरेका थिए । भनिन्छ– पछि माओवादी पार्टीमा विकसित भएका धेरै जिल्लास्तरीय नेता÷कार्यकर्ताहरुको उत्पादनका लागि उनी नेतृत्वको तत्कालीन विद्यार्थी संगठनको ठूलो योगदान छ ।

    क्रान्ति सुरु गर्ने एकजना सूत्राधार
    पार्टी विभाजनपछि क. प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) महान् जनयुद्धको तयारीमा लाग्यो । पार्टी केन्द्रले सशस्त्र संघर्षको कार्यदिशा तय गर्यो । जनयुद्धमा जाने निर्णयसहित पार्टी केन्द्रले ‘चार तयारीको योजना’ अघि बढायो । सोही अनुसार जिल्लामा पनि जोड्तोड्ले तयारी हुन थाल्यो । एकातिर जिल्लाको ‘ग्रामिण वर्गसंघर्ष’लाई नयाँ उचाईमा पुर्याएर सशस्त्र संघर्षको आधार खडा गर्ने र अर्कोतिर आन्तरिक रुपमा राजनीतिक÷बैचारिक, फौजी, सांगठनिक र प्राबिधिक तयारी गर्ने काम दु्रतगतिमा अघि   बढ्यो ।

    क. दावाले जिल्लाको सबै योजना निर्माण र कार्यन्वयनमा सामेल भएर काम गरेका थिए । यसैक्रममा २०५२ साल माघ १८ गते चर्चित कुविण्डे संघर्ष वा घटना भयो । कुविण्डेमा शिक्षकहरुलाई पक्रिन गएका प्रहरी र विद्यार्थीहरुबीच झडप हुँदा एकजना प्रहरीको मृत्यु भएपछि त्यसकै निहुँमा सरकारले आतांक सुरु गर्यो । कुविण्डे, साँगाचोक, इर्खु, मेलचौर, चौतारा, ठूलोसिरुवारी लगायत दर्जनौं ठाउँहरुबाट शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायत जनताहरु गिराफ्तार गरिए । प्रहरी प्रशासनको ज्यादतीले चरम रुप लियो । यस स्थितिमा जिल्ला पार्टीका जिम्मेवार नेता÷कार्यकर्ताहरुको सुरक्षाको प्रश्न जटिल बन्दै गयो । अतः यस घटनासँगै जिल्लामा जनयुद्धको अन्तिम तयारीको योजना फत्ते गर्न र प्रशासनको निगरानीबाट छलिनको लागि सबै पार्टी नेताहरुले भूमिगत जाने निर्णय गरे । सोही अनुरुप उनको पनि भूमिगत जीवनको सुरुवात भयो । उनले कष्टकर भूमिगत जीवनको सुरुवात गरे । अतः उनी जिल्लामा जनयुद्धको औचारिक घोषणा अगावै भूमिगत जाने र जनयुद्धको पहल गर्नेमध्येका एकजना सूत्राधार मानिन्छन् ।
    महान् जनयुद्ध र भूमिगत पार्टी जीवन
    नेपाली इतिहासमा २०५२ साल फागुण १ गतेदेखि महान् जनयुद्धको शंखघोष भयो । देशब्यापी रुपमा एकै रातमा हजारौं फैौजी कारबाहीहरु भए । जिल्लामा पनि सशस्त्र संघर्षका कारबाहीहरु भए । क. दावा पनि जनयुद्धको ऐतिहासिक घोषणाको पहिलो दिनदेखि नै सशस्त्र संघर्षमा सक्रियतापूर्वक सहभागी हुँदै अघिबढे । त्यसपछि जनयुद्धले उच्च रुपमा विकास गर्दै गयो । त्यो झण्डै १० वर्षसम्म अविच्छन्न गतिमा सञ्चालन भयो । त्यसको सञ्चालन र विकासका लागि उनको भूमिका र योगदान निरन्तर बढिरह्यो । युद्धको विकाससँगै उनको क्षमता पनि विकसित हुँदै गयो । उनी जिल्ला पार्टीको विभिन्न ओहोदामा बसेर क्रान्तिकारी कार्यभार पूरा गर्दै बढे । पार्टीमा उनको भूमिका र जिम्मेवारी थपिदै जान थाल्यो ।

    उनी २०५४ सालमा पार्टीको जिल्ला सदस्य भए । उनले युद्धको घनिभूत प्रक्रियासँगै आफ्नो क्षमतामा पनि तीब्र विकास गर्दै गए । जिल्ला सदस्य भएको १ वर्षमै २०५५ सालमा उनी पार्टीको मुख्य नेता अर्थात् जिल्ला सेक्रेटरी भए । युद्धको क्रममा उनीले दर्जनौं फौजी संघर्ष, कारबाही र भिडन्तहरुमा भाग लिए । २०५६ सालमा युद्धकै क्रममा उनको खट्टामा गोली लागी घाइते भएका थिए । तैपनि उनी क्रान्तिमा कहिल्यै गयल भएनन् । जनयुद्धको विकाससँगै देशमा आधार इलाकाहरुको निर्माण-बिस्तार हँुदै गयो । देशब्यापी रुपमा जनसरकारहरु स्थापित भए । २०५८ सालदेखि उनले एकैसाथ पार्टीको क्षेत्रीय ब्यूरो सदस्य तथा जिल्ला पार्टी इन्चार्ज, जिल्ला जनसरकार प्रमुख र तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय महासचिव लगायत पदभार सम्हाले । २०६० सालमा ताम्सालिङ स्वायत्त जनसरकारको सभामुख बनेका उनले २०६२ सालमा त्यसको कार्यबाहक सरकार प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । यसरी उनी सिन्धुपाल्चोकमा जनयुद्ध कालभरी वर्गसंघर्षको उठान, विकास र बिस्तारका लागि कुशलतापूर्वक नेतृत्व गर्ने एकजना क्रान्तिकारी योद्धा हुन् ।

    शान्तिकाल र निर्वाचित सभासद
    जनयुद्धको विकासले नेपाली राजनीतिमा पुरानो सत्ता र जनसत्ताबीचको सत्ता छिनोफानोको संघर्ष अन्तिम निष्कर्षतिर पुग्न थाल्यो । सामन्ती राजतन्त्र र संघीय गणतन्त्रबीच अन्तिम पटाक्षेपको लडाई सुरु भयो । पार्टीले सबै सहायक दुष्मनहरुलाई साथमा लिएर मुख्य दुष्मनलाई ढाल्ने रणनीति अपनायो । त्यसलाई दुष्मनको ‘ढाडमा टेकेर टाउकोमा हान्ने राणनीति’ बताइयो । सोही नीति अनुरुप ऐतिहासिक १२ बुँदे सहमतिसहित पार्टी शान्ति प्रक्रियामा सामेल भयो । अन्ततः १० वर्षे जनयुद्ध र त्यसकै ऐतिहासिक जगमा २०६२÷०६३ को जनआन्दोलन सम्पन्न भई नेपालबाट सामन्ती राजसंस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यो नेपाली इतिहासको एउटा महान् परिवर्तन थियो ।

    यो ऐतिहासिक परिवर्तनपछि नेपाली राजनीतिले नयाँ मोड लियो । देश संविधानसभाको निर्वाचनतिर बढ्यो । पार्टीले शान्ति र संविधानको कार्यदिशा अपनाउँदै निर्वाचनको प्रतिस्पर्धामा भाग लिने निर्णय गर्यो । २०६४ सालमा ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भयो । क. दावाले तत्कालीन सिनधपाल्चोक ३ नं. निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिए । निर्वाचनमा २५ वर्षभन्दा बढी सिन्धुपाल्चोकमा शासन गरेका र निकै शक्तिशाली मानिने पशुपति शम्शेर राण उनका मुख्य प्रतिस्पर्धी थिए । राणले त्यसअघि अरु प्रतिस्पर्धी नहुँदा झुट्टो लोकप्रियता कमाएका थिए । तर क. दावा उनीभन्दा लोकप्रिय भएर जन्मिएपछि राणको लोकप्रियताको रंग फिका साबित भयो । अन्ततः उनी चुनावमा राणलाई भारी मतको अन्तरले पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भएका थिए ।

    विकासप्रेमी नेता
    क. दावा तामाङ एक क्रान्तिकारी नेता त हुन नै, पछिल्लो कालखण्डमा उनले आफुलाई एक विकासप्रेमी नेताको रुपमासमेत साबित गरेका छन् । संविधानसभामा निर्वाचित भएपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा प्रशस्तै विकास योजनाहरु कार्यन्वयन गरेका थिए । जनतासितको उनको सम्बनध युद्धकालदेखि नै घनिष्ट थियो । जनताको कामलाई उनी सबैभन्दा ठूलो कर्तब्य ठान्दथे । त्यसैले आफ्नो कार्यकालमा उनले हरेक जनताको दुःख–सुखको साथी बन्ने प्रयास गरे । समस्यामा पर्दा आफुलाई सम्झेर आउने जनतालाई उनले कहिल्यै पनि खाली हात फर्काएनन् । जसले उनलाई सम्झेर गए, उसले कहिल्यै निराश हुनु परेन । उनको निर्वाचन क्षेत्रका जनताहरु भन्छन्–‘दावा हाम्रो क्षेत्रको गहना हुन्, उनी गरीब किसान, युवा विद्यार्थी र उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातिहरुको अमूल्य सम्पत्ति हुन्, उनले हामीलाई कुलो, पुल पुलेसोदेखि गुम्बा, मठमन्दिर र चर्च निर्माणसम्म गरिदिएका छन्, हाम्रो क्षेत्रमा ९० प्रतिशतभन्दा बढी मोटर बाटो उनकै पहलमा बनेका हुन् ।’

    आजको जिम्मेवारी र भविष्यको सपना
    निश्चय नै क. दावा तामाङ नेपाली राजनीति र सिन्धुको विकासमा अभिन्न रुपले गाँसिएका छन् । समयको गतिसँगै उनको भूमिका र जिम्मेवारी पनि थपिदैं गएको छ । २०७१ सालदेखि पार्टीको केन्द्रीय समितिमा पुगेका उनी अहिले (२०७३ सालदेखि) नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्य छन् । बीचमा एक समय पार्टी विभाजनमा फरक धारातिर उभिएपनि अहिले उनी एउटै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन निर्माण गरी नेपाली जनताको मुक्ति, प्रगति र आर्थिक समृद्धिको विचारले ओतप्रोत एकजना जल्दाबल्दा युवा नेता हुन् । उनले क्रान्तिमा गरेको योगदान, जनतालाई दिएको सेवा एवम् आम कार्यकर्ताहरुमा जितेको विश्वास र कामले कमाएको लोकप्रियताको कारण इतिहासले फेरि एक पटक उनको नेतृत्व खोजेको छ । विकास र समृद्धिका लागि जनतामा उनको माग छ र आसन्न निर्वाचनमा २ नं प्रतिनिधिसभा अन्तर्गत २ नं. प्रदेशका लागि सिन्धुपाल्चोक बामगठबन्धनले प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

    इतिहासको यस घडिमा क. दावा तामाङको एक मात्र सपना छ– ‘बलिदानीपूर्ण संघर्षबाट आएको राजनीतिक उपलब्धीलाई जनताको आर्थिक/सामाजिक जीवनमा बदल्ने र विकास र समृद्धिद्वारा समाजवादी समाज ल्याउने ।’ यो उनको अठोट हो । आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि उनले दिमागमा एउटा सन्ुदर चित्र सजाएका छन् । सपनालाई विपनामा बदल्ने उनीसँग औकात छ, अठोट र भिजन पनि छ । उनको योजना छ– ‘परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यवसायिक बनाई गरीबी अन्त्य र आम्दानी बृद्धि गर्ने । आफ्नो निर्वाचन क्षेत्रमा सडक नपुगेका बाँकी १० प्रतिशत सडक पनि आफ्नै नेतृत्वमा खन्ने र चालु रहेका सबै सडकहरुको बिस्तार, ग्रायबिल र कालोपत्रेसम्म गर्ने । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको पुनःनिर्माण, संरक्षण र विकास गरी आवश्यक पूर्वाधारसहित पर्यटनको विकास गर्ने ।

    हरेक जनताको शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्दै समुन्नत समाज निर्माण गर्ने । औद्योगिक विकासको योजना बनाई हरेक मान्छेको आम्दानी बृद्धि गर्ने । विभिन्न अवसरहरुको सिर्जना गरी हरेक युवालाई एउटा न एउटा रोजगारी दिने । मजदुर र किसानलाई पेन्सन दिने तथा बृदा, अपांग, सुत्केरी र एकल महिलाको सामाजिक भत्ता बढाएर ५ हजार पु¥याउने । अन्ततः सिंगै समाजमा आर्थिक समृद्धिद्वारा सामाजिक रुपान्तरण गर्ने ।’ यसरी योजना बनाएर काम गर्दा ५ वर्षभित्र आफ्नो क्षेत्रको हरेक समस्याहरुलाई आधारभूत रुपमा हल गर्न सकिने र विकास र समृद्धिसहित एउटा सुखी, सुविधासम्पन्न र सुन्दर समाज स्थापना गर्न सकिने उनको विश्वास छ ।

    अन्त्य
    निश्चय नै क. दावा तामाङ प्रचुर सम्भावना बोकेका र जनताको विकास र प्रगतिका लागि एउटा दरिलो हिम्मत, सोच र जाँगर भएका नेता हुन् । उनीसँग विकासको मोडल छ, योजना छ र भिजन पनि छ । त्योभन्दा पनि धेरै त उनको हृदयमा जनताको मायाँ छ । भिजन भएको नेता र मायाँ गर्ने जनता एकसाथ उभिएपछि दुनियाँमा चमात्कार गर्न सकिन्छ । त्यसैले आसन्न निर्वाचनमा क. दावाको विजयसँग जनताको मन, मुटु र भाग्यरेखा जोडिएको छ । समयले क. दावालाई साथ दिएको छ । जनताले फेरि एकपल्ट उनलाई निर्वाचित हुने अवसर दिनैपर्छ । यो बेला सबैले बझ्नै पर्छ–‘यस्ता अदम्य आँट र भिजन भएकाहरुलाई अवसर दिएन भने हामी आफनै भविष्य आफैले भत्काइरहेका हुनेछौं !

    (लेखक नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकका जिल्ला सचिवालय सदस्य तथा जिल्ला पार्टी कार्यालय सचिव हुनुहुन्छ)

    • २०७४ कार्तिक १९ गते प्रकाशित
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस