खबरज्योति
१६ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
सरकारले आगामी सातादेखि ’गरिब घरपरिवार परिचयपत्र’ वितरण थाल्ने तयारी गरेको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतको अध्यक्षतामा १३ कात्तिकमा बसेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले यससम्बन्धी कार्यबिधि पारित गरेपछि परिचयपत्र वितरणको बाटो खुलेको हो । कार्यविधिले परिचयपत्र वितरण प्रक्रिया र विधि प्रस्ट पारेको छ। मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, ’आगामी सातादेखि नै वितरण सुरु हुनेछ ।’
मन्त्रालयले पहिलो चरणमा गरिब घरपरिवार पहिचान गरिएका २५ जिल्लाका २ सय ४१ स्थानीय तहमा क्रमसः परिचयपत्र वितरणको प्रक्रिया अघि बढाएको छ । गरिब घरपरिवार समन्वय बोर्डले विभिन्न २५ जिल्लाको जनसांख्यिक तथा मानवीय अवस्था, घरको अवस्था, घरको सुविधा, घरको सम्पत्ति, भौगोलिक स्थिति र जातजातिगत गरिबीको अवस्थालगायत विभिन्न १८ सूचक र उपसूचकहरूका आधारमा १२ लाख २४ हजार ४ सय १७ परिवारमध्ये ३ लाख ९१ हजार ९ सय ३१ घरपरिवारलाई गरिब पहिचान गरेको थियो । त्यसरी पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत तीन समूहमा वर्गीकरण गरिएको छ ।
जसमध्ये १ लाख ८८ हजार २ सय ३५ अति गरिब, १ लाख १९ हजार ७ सय ४८ मध्यम गरिब र ८३ हजार ८ सय ४८ परिवार सीमान्तकृत गरिब रहेका छन् । गरिबीको सघनताका आधारमा वितरण गरिने परिचयपत्र रातो, पहेँलो र नीलो रङमा छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस