आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन २६ दिन बाँकी हुँदा समेत निर्वाचन आयोगले मतदाता शिक्षा सामाग्री नपठाउँदा सिन्धुपाल्चोकको गाउँ गाउँ मतदाता शिक्षा पुग्न सकेको छैन । जसका कारण मतदाता अन्यौलमा छन् ।
मतदाता शिक्षा समाग्री पठाईदिन निर्वाचन आयोगलाई पटक पटक सम्पर्क गर्दा पनि समाग्री अझै नआईपुगेको जिल्ला निर्वाचन कार्यालय चौताराका निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए । हातेपुस्तिका, ब्रोसर, बुकलेट लगाएतको मतदाता शिक्षा सामाग्री नआईपुग्दा मतदाता शिक्षा दिन खटाईएको कर्मचारीलाई समेत तालिम दिन नसकेको अधिकृत कार्कीले बताए । ‘प्रशिक्षकहरुसमेत चुप लागेर बस्नुपरेको अवस्था छ,’ उनले भने ।
प्रतिनिधिसभा अन्र्तगत दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ मा ८१ मतदान स्थलमा १ सय ५० केन्द्र निर्धारण भएको छ । जसमा प्रदेशसभा १ मा ४१ स्थल, ७८ केन्द्र र प्रदेश सभा २ मा ४० स्थलमा ७२ केन्द्र तोकिएको छ ।
प्रतिनिधिसभा २ मा ६३ स्थलमा १ सय ३५ मतदान केन्द्र रहेको छ । प्रदेशसभा १ मा २८ स्थलमा ६५ केन्द्र र प्रदेशसभा २ मा ३५ स्थलमा ७० केन्द्र तोकिएको छ ।
आयोगले नमुना मतपत्रको साथमा स्वस्तिक छाप नपठाउँदा पनि समस्या पैदा भएको छ । स्वस्तिक छापको सट्टामा काठ वा सिन्काले मतदाता शिक्षा दिनुपर्ने हुँदा मतदान प्रभावकारी नहोला भन्ने चिन्ता पनि जिल्ला निर्वाचन कार्यलय समक्ष छ । मतदाता शिक्षा कार्यक्रमको लागि जिल्ला निर्वाचन कार्यलयले आयोगलाई ११ लाख बराबरको सामाग्री मतदाता शिक्षा कार्यक्रम बनाएर पेश गरेको छ तर स्वीकृत भएपनि सामाग्री अझै नआईपुग्दा समस्या भएको अधिकृत कार्कीले बताए ।
समयमानै मतदाता शिक्षा नपाउँदा २०७४ सालमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा कुल खसेको मतका ३ प्रतिशत मत बदर भएको र २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ४ प्रतिशत म तबदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस