२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

‘नाति जर्नेल’लाई विरासत जोगाउने चुनौती

Thumbnail
  • २०७४ कार्तिक १३, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १३ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    पञ्चायतकालदेखि निर्वाचनमा सहभागी हुँदै आएका पशुपति शमशेर राणाले जनआन्दोलनअघि घोषणा गरेका थिए– ’सिन्धुपाल्चोकका जनताको मनमा हलो गाडिएकाले अब कसैले हल्लाउन सक्दैन ।’

    लगत्तै मुलुकमा २०६२÷०६३ को आन्दोलन सफल भयो । राजतन्त्र समाप्त हुँदै गणतन्त्र स्थापना भयो । गणतन्त्रपछिको निर्वाचनमा राणाले दाबी गरेको ‘गाडिएको हलो’ तेस्रो स्थानमा झर्यो । नेपाली राजनीतिमा ‘नाति जर्नेल’ले चर्चित राणा माओवादीका नेता दावा तामाङसँग पराजित मात्र भएनन्, एमालेका शेरबहादुर तामाङभन्दा पछाडि पुगे ।

    २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राणा पुनः चुनावी मैदानमा उत्रिए । राणाले आफ्नी छोरी देवयानीलाई समेत लिएर निर्वाचन प्रचारमा खटे । सिन्धुपाल्चोकमा ’अन्तिम पटक’ भन्दै उनले भोट मागे । तर जनताले पत्याएनन् । दोस्रो पटक एमालेका शेरबहादुर तामाङसँग पराजित भए । १२ हजार ९० मत ल्याएका राणा तामाङसँग २५ सय मतले पछाडि परेका थिए । सिन्धुपाल्चोकमा राणाले पाँच चोटि जित हात पारे । दुई चोटि हार बेहोरे ।

    तीन क्षेत्र रहेको सिन्धुपाल्चोक यसपालि दुई क्षेत्रमा कायम भएपछि राणा र तामाङबीच कडा टक्कर देखिएको ।

    छैटौं पटक मैदानमा

    २०३८ सालमा पहिलोचोटि सिन्धुपाल्चोक प्रवेश गरेका राणा छैटौं पटक निर्वाचनको मैदानमा उत्रिएका छन् । बहुदलीय व्यवस्था स्थापनापछि भएका तीन वटा निर्वाचनमा उनी लगातार सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट विजयी हुँदै ह्याट्रिक गरेका व्यक्ति हुन् । कमल थापासँग हालै मात्र विद्रोह गरी राप्रपा प्रजातान्त्रिक गठन गरी अध्यक्ष बनेका राणालाई यो क्षेत्रमा विजयी हुनैपर्ने बाध्यता छ ।

    उमेरले ८० पुगेका राणा अर्को पटक निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यसपटक राजनीतिक छवि जोगाउनका लागि पनि जित्नुपर्ने दबाबमा छन् । नेपाली कांग्रेससँग कार्यगत एकता गरेका राणालाई आफ्ना मात्र नभई अरुको कार्यकर्तालाई समेत रिझाउनुपर्ने बाध्यता आइलागेको छ ।

    तामाङ र राणा को बलियो ?

    बहुदलीय व्यवस्थापछि छैटौं पटक संसदीय लडाइँमा उत्रिएका राणा ‘हेबीवेट’ उम्मेदवार हुन् । पहिलो संविधानसभा निर्वाचनमा माओवादीका दावा तामाङसँग पराजित उनी दोस्रो निर्वाचनमा शेरबहादुर तामाङसँग २५ सय मतले पराजित भएका थिए । मंसिर १० मा हुने निर्वाचनमा कांग्रेससँगको सहकार्यमा उनले फेरि उम्मेदवारी दर्ता गराएका छन् ।

    लामो समय सिन्धुपाल्चोकबाट चुनाव लडेका राणा र युवा नेता एवं एमाले केन्द्रीय सदस्य तामाङ चुनावी मैदानमा भएकाले यसपालिको चुनाव रोचक बनेको छ । तामाङ अहिले चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् । एमाले विभाजन हुँदा मालेबाट उम्मेदवार बनेका उनी त्यतिबेला तेस्रो भएका थिए । पहिलो संविधानसभामा दोस्रो भएका उनी दोस्रो संविधानसभामा पहिलो बने । त्यसबेला उनका प्रतिद्वन्द्वी थिए, उनै राणा ।

    चुनावी अंकगणित

    स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा एमाले एक्लैको २५ हजार ७ सय ९० मत देखिन्छ । माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ । दुवैको जोड्दा कुल ३९ हजार ८ सय ९८ मत छ ।

    कांग्रेसको २० हजार २ सय २४ छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ । दुवै जोड्दा कुल २८ हजार ५ सय ६८ मत हुन्छ । यी आँकडा अनुसार राणाले विजयी हुन थप सुधार गर्नुपर्ने देखिन्छ भने तामाङले हाल प्राप्त भएको मत टिकाउनुपर्ने चुनौती छ ।
    २०७० को चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट कांग्रेसका मोहनबहादुर बस्नेतले जितेका थिए भने क्षेत्र नम्बर २ बाट माओवादीका अग्नि सापकोटा र क्षेत्र नम्बर ३ बाट एमालेका तामाङले जितेका थिए ।

    यस क्षेत्रमा रहेको ६ स्थानीय तहमध्ये एमाले ४ तथा नेपाली कांग्रेस र माओवादीदले एकएक स्थानीय तह जितेका छन् । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २४ हजार २ सय ७८ मत पाएको थियो भने कांग्रेसको २० हजार ७ सय ११ थियो । त्यस्तै माओवादी केन्द्रले १८ हजार ८ सय ३४ मत ल्याउँदा राप्रपाले ३ हजार ५ सय २ मत पायो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस