खबरज्योति
१३ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनामा प्रत्यक्षतर्फ जिल्लाका महिलाले टिकट नपाएपछि महिला नेत्री असन्तुष्ट देखिएका छन् ।
महिला अधिकारको वकालत गर्ने प्रमुख दलबाटै प्रत्यक्षमा महिलालाई टिकट नदिइनु पराम्परागत पितृसत्तात्मक सोचको परिणाम भएकाले अब कानूनीरूपमै प्रत्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारीको व्यवस्था हुनुपर्नेमा सम्बद्ध क्षेत्रका नेत्रीले जोड दिएका छन् ।
आमरूपमा राजनीतिमा महिलाको सहभागिता क्रमशः बढ्दो भए पनि प्रत्यक्ष निर्वाचन वा नेतृत्व तहमा महिलाको सहभागिता उत्साजनक हुन सकेको छैन । राज्यका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेसम्बन्धी संबैधानिक व्यवस्थाका कारण प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट महिला सहभागिता अपुग भएमा समानुपातिक प्रणालीबाट न्यूनतम प्रतिशत पूर्ति गरिने व्यवस्था छ ।
आगामी मंसिर १० मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लाबाट दुईजना महिलाहरुले मात्र प्रत्यक्षमा टिकट पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा संघीय खुम्बुवान लोकतान्त्रीक पार्टीबाट साङ डोल्मा तामाङ र प्रतिनिधिसभा क्षेत्र नं. १ अन्र्तगत प्रदेश १ मा संघीय खुम्बुवान लोकतान्त्रीक पार्टीबाटै एलिना तामाङले उम्मेदवारी दिएका छन् । तर जिल्लाका मूख्य दलहरुले प्रत्यक्षमा कुनै पनि महिलालाई टिकट दिईएको छैन ।
महिलाको उम्मेदवारको संख्या किन कम भयो भन्ने प्रश्नमा नेकपा (माओवादी केन्द्र) की नेतृ अमृता नेपाल भन्छिन्– ‘महिला उम्मेदवारको कुरा गर्दा दुख लाग्छ । हामी महिला आन्दोलनमा लागेर पनि महिलाको सशक्तिकरण गर्न सकेका छैनौं । लामो समयदेखि महिलाहरू राजनीतिमा छौँ तर, महिलाको अर्थपूर्ण सहभागिता हुन सकेको छैन ।’ महिला उम्मेदवारको आवश्यकता अन्तरआत्माबाट जरुरी नठान्दासम्म अवस्था फेरिन नसक्ने उनको तर्क छ । नेपालले जिल्लाबाट उम्मेदवार चयनकै क्रममा महिलाले जित्न सक्दैनन भनेर पन्छाउने गरिने तथा केही महिला आफैँ समानुपातिकमा बसेर सरक्षित हुन चाहने प्रवृत्ति देखिएको प्रतिक्रिया दिईन ।
प्रतिक्रिया दिनुहोस