खबरज्योति
१३ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
मंसिर १० गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धन बीच कडा भीडन्त देखिएको छ ।
क्षेत्र नं. १ मा बाम गठबन्धनको तर्फबाट माओवादी नेता एवम् पूर्व मन्त्री अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबीच प्रतिष्पर्धा रहेको छ । त्यस्तै क्षेत्र नं. २ मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका शेरबहादुर तामाङ र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणाबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
क्षेत्र नं. १ अन्र्तगत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोशी, भोटेकोशी, जुगल गाँउपालिका पर्दछन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. १ मा बाम गठबन्धनले ४३ हजार २ सय ८३ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत ल्याएको थियो । यस्तै राप्रपाले ३ हजार ८ सय ६९ मत ल्याएको थियो ।
यस आधारमा लोकतान्त्रिक गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दलको १६ हजार ९ सय ७७ मत बढी छ ।
सिन्धुपाल्चोक क्षेत्र– २ अन्र्तगत पाँचपोखरी थाङपाल गाँउपालिका, हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाँउपालिका, चौतरा साँगाचोकगढी नगरपालिका वडा नं. १, ५, ६, ७, ८, ११, १२, १३, १४ पर्दछन् ।
गत स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा बाम गठबन्धनले कुल ४० हजार ७ सय ९० मत पाएका थिए । नेपाली कांग्रेसले २१ हजार ९ सय ८० मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४ सय ५७ मत पाएको थियो ।
यस अधारमा हेर्दा यहाँ लोकतान्त्रिक गठबन्धनको ३० हजार ७ सय ३७ मत रहेको छ, जुन बाम गठबन्धनको मत भन्दा १० हजार ३ सय ५३ मत कम हो ।
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २ लाख २६ हजार ५ सय ३३ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस