खबरज्योति
१ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
भूकम्प प्रभावितले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।
भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान तिवरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचिमा परेका भूकम्प प्रभावितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरेको हो ।
यसैगरी जोखिमयुक्त वस्तीका प्रभावितले पनि आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न २ लाख र घर बनाउन ३ लाख रुपैयाँ अनुदान पाउने संशोधित कार्यविधिले व्यवस्था गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माका अनुसार भूकम्पबाट क्षतिग्रस्त घर भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा घर निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलव्ध गराइने व्यवस्था अनुसार एउटा जिल्लाको भूकम्प प्रभावितले अर्काे जिल्लामा पनि घर बनाउन पाउनेछन् । उदाहरणका लागि सिन्धुपाल्चोकको भूकम्प प्रभावितले काठमाण्डौमा घर बनाउन पाउनेछन् । तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ । त्यसरी प्रक्रिया पुरा गरेर घर बनाउने लाभग्र्राहीले निजी आवास अनुदान वापत ३ लाख रुपैयाँ पाउनेछ ।
प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त वस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । संशोधित कार्यविधी अनुसार जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरु मध्ये कुनै घरधनीले आफ्नो इच्छा अनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थानमा बसोबास गर्न चाहेमा जाने ठाउँमा घर निर्माण गर्न चाँहिने जग्गा व्यवस्था गर्नका लागि अनुदान स्वरुप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी २ लाख रुपैयाँसम्म एकमुष्ठ उपलब्ध गराईने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस