खबरज्योति
२७ असोज २०७४, सिन्धुपाल्चोक ।
नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकभित्र दुई लाख २६ हजार पाँच सय १५ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
स्थानीय तह निर्वाचनपछि २६ हजार नयाँ मतदाता थपिएपछि सो संख्यामा मतदाताहरुले मतदान गर्न पाउने भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । स्थानीय तह निर्वाचनपछि जिल्लामा एक लाख ९९ हजार पाँच सय मतदाता थिए । मतदाता नामावली पूर्ण रुपमा निर्वाचन आयोगबाट आईसकेकोले निर्वाचनको तयारी तिब्र रुपमा सुरु गरिएको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए । निर्वाचन अधिकृत कार्कीले मतदानस्थल र मतदान केन्द्र तोक्ने प्रक्रिया सुरु भएको बताए ।
राजनीतिक सहमतिमा स्थानीय तह निर्वाचनमा भएकै मतदान स्थललाई कायम राख्ने प्रयास हुने अधिकृत कार्कीले बताए । स्थानीय तह निर्वाचनमा एक सय २२ स्थलमा दुई सय ५५ केन्द्र कायम गरिएको थियो । पछिल्लो संविधानसभा निर्वाचनमा तीनवटा निर्वाचन क्षेत्र रहेकोमा संख्या निर्धारण गर्दा एउटा घटेको हो ।
कुन क्षेत्रमा कति मतदाता ?
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र कायम यो जिल्लामा क्षेत्र नं. १ मा १ लाख १४ हजार तीन सय २३ मतदाता संख्या छ । यहाँ ५५ हजार सात सय ४० महिला र ५५ हजार चार सय ५९ पुरुष मतदाता छन् । क्षेत्र नं. २ मा एक लाख १२ हजार एक सय ९२ मतदाता रहँदा महिला ५४ हजार पाँच सय २० र पुरुष ५७ हजार छ सय ७२ छन् ।
त्यस्तै चारवटा प्रदेशसभा रहेको यस जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा १ मा २८ हजार छ सय ८७ महिला र ३० हजार एक सय ७७ पुरुष गरी ५८ हजार आठ सय ६४ मतदाता छन् । यो प्रदेशमा भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिका र बाह्रविसे नगरपालिका समेटिएका छन् । जुगल, बलेफी, सुनकोसी गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नम्बर वडा समेटिएका प्रदेशसभा २ मा महिला २७ हजार ५३ र पुरुष २८ हजार चार सय छ गरी ५५ हजार चार सय ५९ मतदाता छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा १ मा मतदाता संख्या ५३ हजार सात सय ४८ छ । चौतारा–साँगाचोकगढी नगरपालिकाका बाँकी नौ वटा वडा, मेलम्ची नगरपालिकाका ९, १० र १३ नम्बर वडा र इन्द्रावती गाउँपालिका समेटिएको यो प्रदेशसभामा २६ हजार छ सय ४४ महिला र २७ हजार ४ पुरुष मतदाता छन् । प्रदेश २ मा २७ हजार सात सय ७६ महिला र ३० हजार छ सय ६८ पुरुष गरी ५८ हजार चार सय ४४ मतदाता छन् । यो प्रदेशसभामा मेलम्ची नगरका बाँकी १० वटा वडा, हेलम्बु र पाँचपोखरी–थाङपाल गाउँपालिका समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस