२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

साम्रदायिक द्वन्द्वका कारण तनाव: दुबै पक्षबीच वार्ता जारी

Thumbnail
  • २०७४ आश्विन १६, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    १६ असोज २०७४, नेपालगन्ज ।

    बर्दियाको गुलरिया नगरपालिकाको बडा नं. ११ लालपुरमा हिजो साँझ हिन्दूहरुको दुर्गा भबानीको मूर्ति र मुस्लिमहरुको मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडपपछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासनको पहलमा वार्ता जारी छ ।

    वार्तामा दुवै पक्षका प्रतिनिधिसहित दलका स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवा सामेल छन् । संघीय समाजवादी फोरमका सांसद कासिम अली सिद्दिकी तनाव शान्त पार्न सक्रिय भएर लागेका छन् ।  हिजो साँझको झडपपछि स्थितिलाई थप तनावग्रस्त हुन नदिन आज बिहान साढे ९ बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेश जारी भएपछि नेपालगन्ज–गुलरिया सडकखण्डको यातायात सेवा अबरुद्ध हुँदा दशैंको टीका लगाउने क्रममा यात्रामा रहेका सयौं यात्रु अलपत्र परेका छन् ।

    ताजिया बिर्सजन र मूर्ति बिसर्पनमा निस्केका दुवै समूहलाई अगाडि जानका लागि बाटोको साइड दिने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको थियो । तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अस्रुग्यास प्रहार गरेको थियो। त्यतिले पनि स्थिति सामान्य नभएपछि ४ राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

    झडपपछि हिजो साँझदेखि नै मुस्लिम समुदायका मानिसलाई घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेको पूर्व श्रममन्त्री इस्तियाक राईले बताए ।

    झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएका छन् । कर्फ्युपछि घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    मूर्ति र मोहर्रम बिसर्जन गर्ने मिति एकै दिन परेकाले केही दिनअघि १ दिनको फरकमा बिसर्जन गर्ने निर्णय भए पनि निर्णयलाई राम्रोसँग कार्यान्वयन गराउन नसक्दा अप्रिय घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस