जेठी छोरी भएर होला सानामा सबैले ठूलिमाई भनेर बोलाउँथे नामै त्यै भो । नागरितामा पनि त्यै छ । मेरो घर तीन नम्मर वडा हो, कुविण्डे गाविस । माईती चाहिँ चौतारा, गैरीगाउँ । मरो जन्म २००५ सालमा भएको हो । मैले सानै देखि दुःख पाएँ । म तीन वर्षको हुँदा बुबाले घर छोडेर हिँडेको रे । आजसम्म फर्केर आएका छैनन् । त्यसपछि आमा माईतैमा बस्न थालीन । म पनि आमासँगै मावलीमा बसें ।
मैलै स्कुलको मुखै देख्न पाईन, के को पढ्नु । त्यतिखेर छोरीचेलीले पढ्ने चलन थिएन । त्यैपनि अर्काको घरमा शरण लिएर बसेको कस्ले पढाउँछ र ! आजकाल चाँही नातीनीले नामसम्म लेख्न सिकाईदिएकी छे । मावलीमै बसियो, घाँस दाउरा गरियो र त्यतैबाट बिहे भयो । १४ वर्षमा मेरो बिहे भयो । मेरो एक छोरा र एक छोरी छन् । छोराछोरी दुबैको बिहे भईसक्यो । नातानातीना पनि छन् । स्कुल पढ्छन् ।
म २५ वर्षको हुँदा श्रीमान खस्नुभयो । त्यसपछिका दिन दुःखैले भरिए । बैंसमा लोग्ने नभएपछि सबैले हेप्दा रहेछन् । देउरानीले उसको लोग्नेलाई आखाँलगाएको भनेर खप्नुखननुनै गरिन । मैले त देवरलाई आफ्नै छोरा जस्तो सोचेको थिए । उसले त्यस्तो आरोप लगाएपछि आजसम्म उ सैग मेरो बोलचाल छैन । ससुराले पनि भर्खरकी बुहारी अंश दिएपछि भाग्छे भनेर अंश दिएनन् । पछि मुद्धा लढेर अंश लिए । मैले दुःखै गरेर यी दुई छोराछारीलाई हुर्काए ।
मैले कहिल्यै काठमाण्डौ देखेकी थिईन । एकचोटी छोरोको खुट्टा भाँचियो । काठमाण्डौको अस्पताल लानु पर्ने भयो । कहिल्यै नदेखेको ठाउँ, मलाई त अचम्मै लाग्यो । घरहरु पनि ठूल्ठूला । वीर अस्पतालमा उपचार गरियो । त्यहाँ त पानीको पनि पैसा तिर्नु पर्दो रहेछ । एक भाँडो पानीको दश रुपयाँ तिरेको थिएँ । बत्तिस/चौंतिस सालतिरको कुरो हो । त्यतिखेर छोरो नौ वर्षको थियो ।
पहिला माओवादीको पालामा पुलिसले हैरानै पार्थ्यो । घर पुलिसले वरिपरी घेरेर बस्थ्यो । दिनकै घर खन्तलासि गथ्र्यो । माओवादीलाई कहाँ लुकाएकी छेस भनेर हप्कि–दप्कि गथ्र्यो । अमानसिंको नाम लिएर जहिल्यै उपध्रो मच्चाउँथे । आफुले छात्ती थापेर उनलाई बचायौं । अहिले सम्झदा पनि आतेस लाग्छ । त्यतिबेला मरेर बाँचियो । मैले अस्तिको चुनावमा माओवादीलाईनै भोट हालें । हामिलाई उनिहरुलेनै राम्रो गरेका छन् । अहिले घरमा भैसी छ, चार पाँचवटा बाख्रा छ । त्यसैलाई स्याहार गर्दै बस्छु । काम गर्न नसक्ने भएपछि के गर्नु । आफुले सक्ने काम त गर्नुपर्यो ।
प्रतिक्रिया दिनुहोस