खबरज्योति
१४ असोज २०७४, सिन्धुपाल्चोक ।
घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।
यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ५५ मिनेटपछि टीका लगाउन उत्तम साइत रहेको जनाएको छ । गएको असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको हो । त्यसदिन बिहान घटस्थापना गरिएको थियो । त्यसैगरी ९ गते सोमबार पचली भैरव यात्रा गरियो । ११ गते बुधबार दसैँ घर वा कोठामा फूलपाती भित्र्याइयो । फूलपातीका दिन नै तुलजा भवानी यात्रा गरिएको थियो । फूलपातीकै दिन बिहान तुलजा भवानीलाई स्थिरासन गराइएको छ । यस्तै बिहीबार महाअष्टमीमा राति कालरात्रि पूजा गरियो । शुक्रबार महानवमीको पूजा गरिएको छ ।
आज विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रासमेत हुनेछ । आज मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
टीका लगाउँदाको वैदिक मन्त्र
आयु द्रोण सुते, श्रीयं दशरथे, सत्रु क्षयम् राघवे,
ऐश्वोर्यं नहुशे, गतिस्च पवने, मानंम् च दुर्योधने,
दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे ।
यसको अर्थ द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व, नहुसको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोरा जस्तो दानी, भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्ने हो ।
जेठाको रोलबाट घरका परिवारका सदस्यले टिका लगाई सकेपछि पाहुना, कुटुम्ब, इस्टमित्रलाई टीका लगाउने गरिन्छ । आफू पनि मान्य कुटुम्बकहाँ गएर टिका थाप्ने गरिन्छ । मान्यजनका हातबाट टीका थाप्न टाढाटाढाबाट समेत आफन्त आउँछन् ।
यसै चाडले बषौं विछोडिएका आफन्तहरूसँग भेटघाटको अवसर जुटाउँछ । विदेशमा रहेकाहरू समेत जम्मा हुने भएकाले दशैंलाई कुटुम्ब मिलनको चाड पनि भनिन्छ ।
यस संस्कृतिका पछाडि भगवतीको प्रसाद ग्रहण गर्ने धार्मिक भावना मात्र छैन । आफ्ना मान्यजनप्रतिको श्रष्द्धा र आत्मियताको भावना गहिरिएर बसेको पाइन्छ । नेपाली परंपरामा मान्यजनलाई कति महत्व दिइन्छ भन्ने यो चाडले देखाउँछ ।
टीकाको बेला हाम्रो देशमा एउटा विशेष दृष्य देखिन्छ । हैसियतले भेटेसम्म राम्रो लुगा, गहना लगाएका, निधारमा रातो टिका लगाएका, कपालमा जौका पहेंला जमरा सिउरिएका सर्बसाधारण बाटोमा ओहोरदोहोर गरेको दृष्य साँच्चै रमाइलो लाग्छ ।
यसै गरी टीकाको क्रम ५ दिनसम्म चल्छ । वास्तवमा बिजयको हर्षोल्लासमा लगाइने टीका एक दिनको मात्र हो । तर टाढा रहेका आफन्तलाई समेत पर्खने ब्यवहारिकताले गर्दा पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नेपालको पश्चिमी क्षेत्रमा भने टीका दशमीका दिन मात्रै लगाउने चलन छ ।
यसै दिन घरघरबाट खड्ग निकालेर खड्ग जात्रा पनि गरिन्छ । यसलाई बिजयको प्रतीक मानिन्छ । यसै बेला पचली भैरवको जात्रा पनि चलिरहन्छ । पचली भैरव र अस्टमात्रिकाको नृत्य पनि ठाउँठाउँमा देखाइन्छ । बिजयाकै मध्यरातमा पचली भैरवको जात्राका क्रममा राजकीय खड्गको आदान प्रदान हुन्छ ।
प्रतिक्रिया दिनुहोस