हेर्दाखेरि शब्दै शब्दहरुको एउटा लहर ! अर्को लश्कर वाक्यको अनि फेरि अर्को क्याराभान अनुच्छेदको ! यी नै शव्द, वाक्य अनि अनुच्छेदमय क्यानभासभित्रको कलात्मक प्रस्तुति सायद साहित्य !
भनिन्छ नि जीवनमा एकपटक कोही न कोही कवि बन्छ रे । अर्थात साहित्यको किनारमा उभिन्छ रे । यदपी उसका सिर्जनाहरु कतै उरण्ठेउला हुन सक्छ त कतै गम्भीर ! साहित्यलाई सरलरुपमा अथ्र्याउँदा साहित्य मानिसको मनभित्रको बाह्य प्रस्फुटन हो भन्दा फरक नपार्ला । मानिसका दैनिक क्रियाकलापदेखि सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक,सांस्कृतिक क्षेत्रका विषयबस्तुलाई साहित्यिक हिसावले अझ भनौं मानिसको सामान्य बोलीचाली र लेखाइलाई अझ मिठासपूर्ण तरिकाबाट अभिब्यक्त गर्नु नै साहित्यिक कला हो । साहित्यका बिभिन्न बिधाहरु हुने गर्दछन् । जस्तै कथा, कविता, गीत, नाटक आदि । बिभिन्न विधाका आ–आफ्नै बिशेषताहरु छन् । विभिन्न कवि लेखक, कलाकारहरुले अ–आफ्नै शैलीमा बिभिन्न बिधामा समाजको बिभिन्न क्षेत्रका यथार्थता साहित्यका विविध विधामार्फत संप्रेषित गरिरहेका हुन्छन् । प्रायः बहुसंख्यक साहित्यिक लेख रचनाहरु समाजको यथार्थ झल्कने खालकै हुन्छन् । यसार्थ, साहित्य वास्तविकताबाट कहिल्यै पनि बाङ्गिन सक्दैन र भनिरहनु पर्दैन साहित्यिक लेखरचना पनि विभिन्न राजनैतिक, आर्थिक, सामाजिक दृष्टिकोणमा आधारित भएर अभिब्यक्त हुने गर्दछन् । कतिपय साहित्य रचना माया प्रेममा आधारित भएर लेखिएका हुन्छन् भने कतिपय राष्ट्र–पे्रमका भावले ओतप्रोत भएर अभिब्यक्त भइरहेका हुन्छन् । कतिपय साहित्यकारले राष्ट्रिय, अन्तराष्ट्रिय घटनाक्रमका विषयलाई मिठासपूर्ण तरिकाबाट साहित्यमा अभिब्यक्त गरिरहेका हुन्छन् । कसैका साहित्यिक लेख रचनाहरु समर्थन वा बिरोधमा पनि उत्रन्छन् । कसैको लेखन शैली आलोचनात्मक हुन्छ भने कसैको यथार्थ झल्कने तठस्थ खालको पनि हुन्छ भने कसैको एक पक्षीय समर्थन गरिएको पनि हुन्छन् ।
नेपालको साहित्य र कला क्षेत्रको वास्तविकता नियाल्दा बुहसंख्यक दर्शक आकर्षित गर्ने खालका सिनेमाहरु होस या प्रेम प्रसंग, यसलाई आधार बनाईएका उपन्यासहरुकै बाहुल्यता पाइन्छ । कतिपय फिल्महरु प्रेम प्रसङ्गमै सीमित छन् भने कतिपय फिल्महरुले अहिलेको समाजको जल्दोबल्दो राजनीतिक, आर्थिक, सामाजिक परिवेशलाई टपक्क टिपेर ब्यङ्ग्यात्मक ढंगलबाट प्रस्तुत पनि गरेका छन् ।
नेपाली साहित्यका बिभिन्न धाराहरु मध्ये माक्र्सवादी धारको एउटा छुट्टै पहिचान र महत्ता छ । नेपाली साहित्यकारहरुले प्रगतिशील साहित्यिक धारलाई आत्मसात गर्दैै आफ्ना साहित्यिक लेख रचनाहरु प्रकाशन पनि गरेका छन् र नेपालको सन्दर्भमा प्रगतिशील साहित्यले परिवर्तन, अग्रगमनका लागि एउटा महत्वपूर्ण र अर्थपूर्ण उपस्थिती जनाउँदै आएको छ । यसकारण पनि प्रगतिशिल साहित्यका समर्थक र आलोचकहरुको उपस्थिती पनि दह्रो देखिन्छ । बास्तबमा नेपाली सन्दर्भमा प्रगतिशील साहित्यिक धाराले नेपाली समाजको पूनःर्जागरणका लागि एउटा बृहत बहसको बिषयलाई सदैब उठान गर्दै आइरहेको छ । नेपाली प्रगतिवादी साहित्यिक धाराले माक्र्सवादी साहित्य कलालाई जनमानससम्म पुर्याउँदै समाजमा रहेको बिकृति, बिसंगति, अराजकता, जडता, कुसंस्कार, अन्धविश्वास, रुढीबादी परम्परा आदिलाई चुनौती दिँदै समाजमा बैज्ञानिक, ज्ञान, चेतना फैलाउन र अन्याय, अत्याचारलाई कहिल्यै पनि सहन नसकिने र यसका बिरुद्ध सारामा जनजागरण र चेतना फैलाउने काममा आफ्नो सशक्त उपस्थिती जनाउँदै आएको घाम जतिकै छर्लङ छ ।
नेपाली प्रगतिशिल साहित्यिक आन्दोलन खास गरि समाजको राजनैतिक क्षेत्रसंग बढि केन्द्रित भएको देखिन्छ । व्यवस्था परिवर्तनका लागि जति पनि आन्दोलन र विद्रोहहरु भए, त्यसमा खासगरि नेपाली प्रगतिशिल साहित्यकारहरु मोर्चावन्दी गरेरै आन्दोलनमा उत्रेका धेरै दृष्टान्तहरु छन् । जसले आन्दोलनलाई सफलिभूत गर्न अहम् भूमिका निर्वाह गरेकोमा दुई मत नहोला ।
समाजका गरिब निमुखा, महिला, शोषित पिडित जनता जसलाई वर्षाैंदेखि राजनीतिक सत्ताले धर्मको आडलिंदै बिभिन्न पेशा, ब्यबसाय र वर्गमा बिभाजित गर्ने काम गर्यो र सत्ताको बिरोध गर्नु अधर्म हो भन्दै हिन्दु धर्मलाई आड बनाउँदै बिभिन्न जाति, लिङ्ग वर्ग छेत्र, पेशा ब्यबसायको आधारमा शोषण र दमन गरि रह्यौँ त्यसका बिरुद्ध प्रगतिशिल साहित्यकारहरुले निरन्तर आप्mनो साहित्यिक लेख रचना र सिर्जनामार्फत समाजमा चेतनाको जागरण ल्याउने काम गरिनै रहका छन् ।
माक्र्सवाद एउटा सामाजिक विज्ञान हो । जसले समाज निरन्तर परिवर्तन चाइरहन्छ भन्ने यथार्थतालाई आत्मसात गर्दै वर्ग संघर्षको अपरिहार्यतालाई सधैं पैरवी गरिरहन्छ । माक्र्सवादले साम्यवाद बाहेक हरेक युगमा समाज वर्गीय आधारमा विभाजित हुने तर्कलाइ अघि सारेको छ । खासगरि अल्पसंख्यक अभिजात वर्गले बहुसंख्यक कामदार र मजदुर वर्गमाथि आफ्नो आधिपत्य जनाउदै आएको समाजमा ती बहुसंख्य मजदुर र कामदारलाई हक, हित र अधिकारका लागि लड्न सिकाउछ । यही सिकाइ र भोगाइ एउटा निश्चित बिन्दुमा पुगेपछि समाजमा क्रान्ति भई अर्को नयाँ व्यवस्थाको स्थापना हुने सामाजिक वैज्ञानिक तथ्य उजागर हुने सत्य नै माक्र्सवादको मूल मर्म हो । यसले समस्यालाई समाज समक्ष उजागर गर्ने काम मात्र गर्दैन, समाधानकालागि वैज्ञानिक र तथ्यपरक बाटाहरु पनि देखाउने काम गर्छ । जब माक्र्सवाद साहित्यको प्रारम्भ भयो, सङ्गै त्यसको तरङग विश्वभर फैलियो । नेपालमा पनि माक्र्सवादी विचारसंग हातेमालो गर्दै जनसात्यिकारहरुले राजनीतिक चेतना जगाउने र समाजको यथास्थितीवादको विरोध गर्दै प्रगतिशिल साहित्यिक धाराको नामबाट समाजका विभिन्न क्षेत्रमा रहेका जस्तै राजनीतिक क्षेत्रको सामन्तवाद, पूँजीवादका बिकृत पक्षको विरुद्धमा र समाजमा रहेको धार्मिक क्षेत्रको अन्धभक्त लगायत लैंगिक विभेदहरु, आर्थिक क्षेत्रका असमानताहरु लगायत साहित्यका विविध विधाहरु मार्फत समाजको असमानता र विभेदका विरुद्ध आवाज उठाउने कामहरु भएका छन् ।
नेपालको राजनीतिक परिवर्तनको आन्दोलनसँगै विभिन्न समयमा, प्रगतिशील साहित्यका श्रष्टाहरुले समाजमा तरङ्ग ल्याउने काम गरेका छन् । प्रगतिशिल साहित्य भन्नु नै बास्तवमा यथास्थितीको बिरुद्ध न्याय र उन्नतीको पक्षपोषण गर्दै समाजवाद र साम्यवादको मार्गमा अग्रसर रहन हरपल, हर समय जनमानसमा साहित्यिक विधाको पक्षबाट आफ्ना कलम र आवाजहरु बुलन्द बनाउने एउटा चेतनशील जागरणको अभियान हो । माक्र्सवादी प्रगतिवादी साहित्यले मनोरञ्जनात्मक भन्दा पनि सचेतात्मक र चेतनामूलक सन्देश प्रवाह गर्दछ । जसका कारण सर्वसाधरण मानिस पनि आन्दोलन र परिवर्तनका लागि तयार रहन सहमत बन्दछ । परिवर्तन नै जीवन हो । परिवर्तनका रुपमा तयार रहनु पर्ने सन्देश प्रगतिशिल साहित्यले प्रवाह गर्न सक्छ । एउटा सिपाहीको बन्दुक भन्दा एउटा साहित्यकारकौ कलम धेरै शक्तिशाली हुन्छ ।
वर्तमान समयमा प्रगतिशील साहित्यको दिशा
नेपाली जनताको २००७ साल, २०२८, २०३६, २०४६ र २०५२ देखि २०६२ सम्मको जनयुद्ध लगायत विभिन्न समयका चर्चित र कठिन अति सहासिक राजनीतिक आन्दोलनको बलमा स्थापित गणतन्त्र र संविधानसभा मार्फत निर्मित संविधानको कार्यान्वयनका लागि अव सिङ्गो नेपाली समाज र नेपाल राष्ट्र एक हुनु पर्ने अवस्था छ । गणतन्त्रको स्थापना र संविधान निर्माण कार्य पनि यति सजिलो प्राप्त भएका राजनीतिक परिवर्तन होइनन् भलै यतिले मात्रै हामीलाई चित्त नबुझेको पनि हुन सक्छ । विभिन्न जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिसहरु सबै एकै पटक सन्तुष्ट हुन सक्ने स्थिति बन्न नसकेता पनि उपलब्धि र प्रगति एकै पटक प्राप्त हुने नभई पटक पटक विभिन्न आन्दोलनका धक्का मार्फत थप उपलब्धिका लागि तयार रहनु र तयारी गर्नु आवश्यक रहन्छ । यसकालागि सामाजिक वातावरण तयार गर्न प्रगतिशिल साहित्यको महत्वपूर्ण भूमिका हुन सक्छ ।
नेपाली समाजमा विभिन्न राजनीतिक आन्दोलन मार्फत सत्ता परिवर्तन त सम्भव भयो तर यसको लागि चाहिने सांस्कृतिक आधार र आर्थिक आधार अझै कमजोर स्थितिमा छ । राजनीतिक रुपमा हामीले जति परिवर्तन गर्यौं समाजका शुष्मदेखि बृहत संख्याहरु परिवर्तन भने गर्न सकेका छैनौं । महिला पुरुष विचको विभेद ब्यबहारिक रुपमा सन्तोषजनक ढंगबाट समेत हट्न सकेको छैन भने परिवार, विवाह विभिन्न आर्थिक, सरकारी एवम् गैैरसरकारी संस्थाहरुमा सबै जाति वर्ग क्षेत्र लिङ्गको पहुँच र प्रभाव पुग्न सकेको छैन । हामीले प्रगतिशील साहित्यिक आन्दोलन मार्फत समाजमा रहेको आधा विश्वास, संस्कारगत अन्धता हटाउन समाजका हरक्षेत्रसंग सम्बन्धित मान्छेमा सचेतात्मक जागरण अभियान ल्याउन आवश्यक छ । जन्म मृत्युसंग सम्बान्धित संस्कारगत विषयमा नेपाली समाज अझै पनि हिन्दु धर्मका सनातन परम्परामानै आधारित छन् । समाजमा डाक्टर, वकिल, इन्जिनियर राजनीतिज्ञ र विभिन्न विषयका विज्ञहरु त छन् तर आफ्नो परम्परागत संस्कारमा भने प्रगति गर्न सकेका छैनन् । समाजमा अव दलित र महिलाको मनोवल उच्च बनाउने सामाजिक अभियान चलाउनु आबश्यक छ भने आर्थिक समृद्धिकालागि बढेका देखि नपढेका सम्म सबैको सिप उपयोग हुने आर्थिक नीतिका लागि आर्थिक क्रान्तिको पक्षलाई र सबैको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा सम्पूर्ण नेपालीको शान र अवसरको लागि नेपालमै केही गरौं, देशकै लागि लडौं, देशकै लागि मरौं त्यसका लगि विश्वका अत्याधुनिक प्रविधि र ज्ञान, चेतना अपनाई विश्वबजारमा आफ्नो कुन उत्पादनले पहुँच जमाउन सक्छ र आत्मनिर्भर अर्थतन्त्रको लागि हामी योग्य रहन सक्छौं भन्ने दिशामा सम्पूर्ण नेपाल र नेपाली प्रगतिशिल साहित्यिक आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
हो खासगरि नेपाली प्रगतिशिल साहित्यले राजनीतिक परिवर्तनका लागि जसरी आफ्ना अतुलनीय भूमिका निर्वाह गर्दै आइरहको छ । त्यसरी नै अब संघीय लोकतन्त्रलाई संस्थागत गर्न, अझै विद्यमान विविध उत्पीडन, दमन, विभेदको अन्त्यका लागि मोर्चावन्दी गर्नुपर्ने आवश्यकता छ । प्रगतिशील साहित्यकारहरुले आफ्ना फोरमहरु मार्फत प्रगतिशिल साहित्यका कार्यशालाहरु सञ्चालन गर्दै साहित्यानुरागीहरुलाई प्रगतिवादी धारमा आकर्षित गर्ने र त्यो किसिमको लेखरचना संप्रेषित गर्ने वातावरणको निर्माण र व्यवस्थापन गर्नु नै आजको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस