२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आज बडा दशैंको नवौं दिन: हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै

Thumbnail
  • २०७४ आश्विन १३, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    १३ असोज २०७४, सिन्धुपाल्चोक ।

    आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।

    आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

    पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

    मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

    महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

    हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

    महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस