२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

विद्यालयमा संरक्षण शिक्षा

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    ९ असोज २०७४, सिन्धुपाल्चोक ।

    गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आफ्नो आयोजना क्षेत्र अन्र्तगत सिन्धुपाल्चोकको ५  विद्यालयमा संरक्षण शिक्षा पढाउन थालेको छ ।

    सानै उमेरदेखि वन संरक्षण, सम्वद्र्धन र उपयोगका बारेमा जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले जिल्लाको ५ विद्यालयहरुमा अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा लागू गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

    संरक्षण क्षेत्र लागू भएका सिन्धुपाल्चोक सहित ३ जिल्लाका २ हजार विद्यार्थीहरुले वन संरक्षण अघिल्ला शैक्षिक वर्षदेखि शिक्षा अध्ययन गर्दै आईरहेका छन् । सिन्धुपाल्चोक सहित दोलखा र रामेछापका २२ माध्यमिक विद्यालयहरुमा चालु शैक्षिक सत्रमा करिब २ हजार विद्यार्थीहरुले संरक्षण शिक्षा अध्ययन गर्दै आइरहेका हुन् ।

    पाठ्यक्रमभन्दा अतिरिक्त शिक्षाको रुपमा आफ्नो विद्यालयको कक्षा ६, ७ र ८ मा अध्यापन गराउने गरेको जीक्यापका प्रमुख साहले जानकारी दिए । जीक्यापको तथ्याङ्कअनुसार कक्षा–६ मा एकहजार ३३, कक्षा–७ मा ५ सय ५० र कक्षा–८ मा ४ सय २० गरी कूल करिब २ हजार विद्यार्थीहरुले अतिरिक्त शिक्षाको रुपमा संरक्षण शिक्षा अध्ययन गर्ने गरेका छन् ।

    संरक्षण शिक्षाको लागि पाठ्यक्रम विकास केन्द्र भक्तपुरको समन्वयमा जीक्यापको आफ्नै खर्चमा पाठ्यक्रम विकास गरि सम्वन्धित विद्यालयका विद्यार्थीहरुलाई निशुल्क वितरण गर्ने गरेको जनाएको छ । संरक्षण शिक्षा सहायता कार्यक्रममार्फत अध्यापन गराईने संरक्षण शिक्षाको पाठ्यभार बार्षिक २० घण्टी रहेको जीक्यापले जनाएको छ । सरकारले लागू गरेको ८ सय पूर्णाङ्कभन्दा अतिरिक्त शिक्षाको रुपमा सबैभन्दा पहिला हामीले संरक्षण शिक्षा अध्यापन सुरु गरेको उत्तरी शान्तिआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडा बस्नेतले जनाए ।

    ३ चरणको परीक्षामध्ये ५० पूर्णाङ्क निर्धारण गरी बार्षिक परीक्षा सञ्चालन हुने गरेको छ भने बार्षिक परीक्षाको लागि आफ्नै खर्चमा प्रश्नपत्र छपाई गरेर विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख साहले जनाएका छन् । संरक्षण शिक्षा अध्यापन गराउने शिक्षकको लागि मसलन्द सहित २० हजार, ग्रीन फोर्स बालक्लबको लागि बार्षिक १० हजार र छात्रवृत्तिको लागि १० हजार गरी बार्षिक ४० हजार पनि विद्यालयमा पठाउने गरेको जीक्यापका प्रमुख साहले जानकारी दिए ।

    विद्यालयको आवश्यकतअनुसार अन्य शैक्षिक सामग्री, आंशिक मर्मत, शौचालय निर्माण र सामान्य फर्निचर समेत उपलब्ध गराउने गरेको जीक्यापले जनाएको छ । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको साविकका विभिन्न २२ गाविसको वन क्षेत्र समेटेर २०६७ सालबाट गौरीशंकर संरक्षण क्षेत्र लागू गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस