खबरज्योति
९ असोज २०७४, सिन्धुपाल्चोक ।
प्राथमिक तहका विज्ञान शिक्षकहरूमा विद्यार्थीलाई सकेसम्म धेरै विज्ञानको ज्ञान दिनुपर्छ भन्ने धारणा बनेको हुन्छ । विज्ञान स्वभावतः तथ्यात्मक हुन्छ र यसका कतिपय तथ्य, सिद्धान्त र जानकारी प्राथमिक तहका प्रत्येक बालबालिकाले कण्ठ पार्नै पर्छ भन्ने पनि उनीहरूलाई लागेको हुन्छ । प्रश्न उठ्छ, यस्ता धारणा कति सही हुन् ? र, एउटा शिक्षक स्वयम्ले कतिसम्म विज्ञान जान्न सक्छ वा जान्नु जरूरी छ ?
विज्ञान सम्बन्धी ज्ञान साँच्चै अथाह र अपरिमेय छ । ५० हजार भन्दा बढी त अनुसन्धानका क्षेत्र (विषय होइन !) नै छन् । विज्ञान सम्बन्धी जानकारी दिने १ लाख २० हजार भन्दा बढी प्राविधिक पत्रिका विश्वमा नियमित प्रकाशित हुन्छन् । हिसाब गर्दा के देखिएको छ भने, विज्ञान सम्बन्धी ज्ञानको यो भण्डारसँग ताल मिलाएर चल्न मानिसले एक मिनेटमा ४० लाख शब्दका दरले निरन्तर पढिराख्नुपर्ने हुन्छ । ज्ञानको यो भण्डार एक वर्ष नपुग्दै डबल भइसक्छ । अझ्, सन् २०२० सम्ममा त यो भण्डार अढाइ महीनामै दोब्बर हुँदै जाने वैज्ञानिकहरूको अनुमान छ । मान्छे नाथेले पढेर के पार लाओस् !
यसलाई एक छिन बिर्सि्दिने हो भने पनि विज्ञानको क्षेत्र कति विस्तृत र विविधतापूर्ण छ भने कुनै पनि कक्षाका विद्यार्थीको अप्रत्याशित (तर विषय सम्बन्धी) प्रश्नको तथ्यात्मक उत्तर दिन कुनै पनि शिक्षकको बुताको कुरो हुँदैन । मानिलिनोस्, तपाईंले आफ्ना विद्यार्थीलाई कायान्तरण (मेटामर्फो्सिस) पढाउने निधो गर्नुभयो र लार्भा कसरी पुतलीमा कायान्तरण हुन्छ भन्नेबारे आफ्नो ज्ञान ताजा गर्नुभयो । अन्य केही कीरा र पुतलीको कायान्तरणमा के समानता र फरक छ भन्नेबारे पनि अध्ययन गर्नुभयो । यसरी पूर्ण तयारी साथ कक्षामा, पढाइरहेको वेला कुनै बच्चाले झवाट्ट कनसुत्लोका बारेमा सोध्यो भने के गर्नुहुन्छ ? केही दिनअघि उसले आफ्नो घरमा कनसुत्लो देखेको हुन सक्छ र उसलाई त्यसबारे नै जान्ने बढी उत्साह हुन सक्छ । आफूले पढाउने कुराबारे त तपाईंलाई पर्याप्त थाहा छ तर कनसुत्लोका बारेमा थाहा छैन । अब के गर्ने ?
अथवा, तपाईं मशीन र त्यसको कार्यप्रक्रियाबारे सामान्य जानकारी दिइरहनुभएको छ । र, बच्चाहरूलाई आफंै मशीनहरूको ‘खोज’ गर्न प्रेरित पनि गर्दै हुनुहुन्छ । फ्याट्ट एउटा बच्चाले क्रेनको कार्यप्रणालीबारे प्रश्न गर्छ । त्यसका बारेमा त तपाईंले अध्ययन गर्नुभएकै छैन । अब गर्नुहुन्छ के ? कुरो बुझ्हिाल्नुभयो होला । विज्ञान सम्बन्धी जति अध्ययन गरे पनि, जति सिके पनि कहिल्यै पर्याप्त हुँदैन, चाहे प्राथमिक कक्षालाई पढाउन नै किन नहोस् !
प्रतिक्रिया दिनुहोस