यो नलेखिएको कविता हो,
आखिर किन लेखिएन कविता ।
हिजैको साँझ,
भाइबरको भ्वाइस म्यासेजले भन्दै थियो
‘मेरो पीडाको कविता लेखिदिनुहोस्
मेरो आत्माले शान्ति पाउनेछ’
सुनियो मलिन स्वर, अनि बुझियो,
गोठाल्नीको अस्मिता मालिकले लुटेछन् ।
ऊ थिई, फूलमाया तामाङ्नी
सिन्धुपाल्चोकको उपल्लो लेकमा
भेडी चराउँछे, चौंरी स्याहार्छे ।
पन्ध्र–पन्ध्र दिनमा झर्थी ऊ, लेकबाट
साँझ, तातो तेल मालिकको जीउमा तप्प झार्दै
ऊ सुनाउँथी
अखबारमा नलेखिएका चौरीका ताजा खबर ।
उमेरले एघार हुँदा
ठिक पाँच वर्षअघि, काभ्रेबाट
‘अर्की आमा’ले घरबाट निकालेपछि हो
ऊ, चौरीको साथी बनेकी ।
ऊ आउँदा, स्वागतार्थ
आँगनैको बोटमा लालीगुराँस हाँसेको थियो,
सामुन्नेको जुगल हिमाल सर्वाङ्ग खुलेको थियो
अनि, ऊ पनि मुस्कुराएकी थिई
त्यसै पल उसले सुनाएकी थिई
हिमाल र लालीगुराँसको कविता ।
बिटुलिएपछि….
रगतको टाटेपांग्रे तन्ना सम्पत्ति बोकेर
घरबाट मध्यरातमा निस्कँदा
घर छेऊकै लालीगुराँस हाँस्दै हाँसेन
न त खुल्यो जुगल हिमाल
न ऊ हाँस्न सकी
भेडी अनि चौरीहरुले खासखुस गरे
ऊ कहाँ गई ? ।
बिहानै फूलमायाका मालिकले फोनमा सुनाए
उसले आत्महत्या गरिछे ।
लाग्यो,
यतिबेला कहाँ छ भगवानको देश ?
अनि कहाँ छन् त्यो देशका प्रधानमन्त्री, मन्त्रीहरु ? ।
ऊ नभएको पल कसरी लेख्न सकिन्थ्यो र कविता ।
लेखिएन, फूलमायाको आँसु लेखिएन,
जुन ब्रम्हायणी जस्तै बगेको थियो,
उसको जीवन लेखिएन,
जहाँ कविताकै जीवन थियो
न त लेखियो,
उसैका प्रिय चौरी अनि भेडीहरुका कहानी ।
किन लेखिएन, किनकि
भाइबरमा, म्यासेज आउँदा
यो कवि, ‘पोर्न फिल्म’को ‘च्यारिटी सो’मा मस्त थियो ।
त्यसैले यो नलेखिएको कविता हो ।
प्रतिक्रिया दिनुहोस