सिन्धुपाल्चोक, ज्यामिरेबाट ओरालो झर्दा मीना तामाङसँग साथमा एउटा दुब्लो कुम्लोमात्र थियो । कुम्लोभित्र च्यातिएको च्यादर र केही थान मैला कपडा थिए । घरको भित्तोजस्तो रित्तो गोजी थियो । तर, मनमा सपना साँचेकी थिइन्– तल कलकल बगिरहेको इन्द्रावतीजस्तै । सफेद, निश्चल !
टोपी खस्ने निर्धनताको अग्लो पहाड । अभावले खिइँदै गएका हातगोडाले जति खनीखोस्री गरे पनि ज्यामिरेका फगटाहरूमा सुखको अनाज कहिल्यै उम्रिएनन् । बरु जीवनमा दुःखको कोणधारी जंगल पो थपियो– छिचोल्नै गाह्रो । मनभरी रहर र थाप्लोमा पीडाको कहर बोकेकी मीनाले सहर पस्ने ठहर गरिन्– आजभन्दा तीन दशकअघि ।
तर, सहरले पनि उनलाई कहाँ सुख दियो र ?
काठमाडौँ खाल्डो पसेपछि उमेर फेरियो । हातपाखुरा बलले शरीर बैंसले घेरियो । उमेरक्रमसँगै परिचय पनि बदलियो तर दुःख ज्युँका त्युँ रहे । कुनै बदलाव आएनन् ।
बरु उनको जिन्दगीमा ‘लोग्ने’ नामको पुरुष प्रवेश गर्यो र त्यसैले दुःख थोपर्यो अनेक प्रारूपमा । सुखसँग कहिल्यै साक्षात्कार नभएकी मीनाले लोग्नेको दैलोभित्र प्रवेश गरेपछि अतिरिक्त दुःख र मानसिक, शारीरिक यातना, प्रपीडासँग पो परिचय पाइन् । लगातार तीन सन्तान जन्मे । लालनपालन, शिक्षादीक्षाको भारी आफ्नै काँधमा थपियो । लोग्नेलाई कुनै वास्ता भएन, मानौं, उनी त्यसबाट बेखबर थिए ।
तिनै मीनाको जीवनमा अहिले पहारिलो घाम लागेको छ । सन्तान–सुखको जादूमयी आभाले होला, उनको अनुहार लगातारको झरीपछि मुसुक्क हाँसेको आकाशझैँ छ्याङ्ग खुलेको छ ।
५० वर्षीया मीना तामाङले अर्काको घरमा भाँडा माझेरै, बनिबुतो, ज्याला मजदुरी गरेरै, दुःख, अभाव झेलेरै निर्धनता, विपन्नतासँग निर्मम पौँठेजोरी खेलेरै छोरीलाई दन्त चिकित्सक बनाएकी छन् । आफ्नै नामबाट नागरिकता दिलाएकी उनको छोरीको नाम अघिल्तिर डा. थपिएको छ ।
सिन्धुपाल्चोकका डाँडाकाँडा, जहाँ अझै पनि शिक्षाको तेजिलो घाम लागेको छैन, दुःखका बनबुट्यानले जेनतेन लागेको पार छेकिदिन्छन् । पाठशाला होइन, बालखैमा पराइको घर जान अभिशप्त छन् त्यहाँका तामाङ किशोरीहरू ! त्यही ठाउँकी ‘अनपढ’ मीनाले आफ्नी छोरीलाई पढेलेखेकी मात्र होइन, आम मानिसहरूको सपनालाई उछिनेर चिकित्सक बनाउन सफल भएकी छन् ।
० ० ०
बाल्यकालमा कसैले ‘राम्री पढ्दी रहिछ्यौ, डाक्टर बनेस्’ भन्यो भने भावना नराम्रोसँग झस्किन्थिन् । शरीरका रौँ उचालिन्थे । बालखैमा अभिभावक र मानसिक यातनासँग चिनजान भएकी उनले सपना देख्न पनि छाडिसकेकी थिइन् । दिनभरि हड्डी घोट्दा पनि चुल्हो तताउन मुस्किल हुने दीन–हीन आमाकी छोरीले त्यत्रो सपना कसरी देख्नु ! जिब्रो काढ्थिन् उनी ।
“रातोदिनको गृहकलहले कयौँ रात आँखा झिमिक्क नपारी बित्यो, सपनै देख्न पाइन !” उनी बाल्यकालको कुइनेटोतिर फर्किइन् । र, खुइया काढिन् ।
उनी चाहन्नथिन्– आमाको थाप्लोमा नाम्लोको डामभन्दा चाक्लो आफ्नो आकांक्षा नबनोस् । आफ्नो सपना निर्धनताको पहाड भन्दा अग्लो नबनोस् र आमाका लागि उत्तिकै बोझिलो पनि । र त, उनले यो बन्छु, यस्तो बन्छु भनेर सपना कहिल्यै साँचिनन्, आफ्नै धरातलमा बाँचिरहिन् ।
स्कुलसँगै भत्किएको जीवन
समय ठ्याक्कै याद भएन उनलाई । ९–१० वर्षकी थिइन् उनी । काठमाडौंको उत्तरी भेग महाँकालको प्रोग्रेसिभ बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्थिन् । खै किन हो स्कुल भत्काइयो । शैक्षिक सत्रको मध्यतिर । दोस्रो त्रैमासिक परीक्षा सकिनेबित्तिकै विद्यालय भत्काइएकाले उनले कक्षा चार पूरा गर्न पाइनन् । पढाइ तेजिलो थियो । शिक्षकले भनेको चराले आहारा टिपेझैँ टपक्कै टिप्थिन् । तर, स्कुल बीचमै भत्काइएपछि उनको शैक्षिक यात्रा पनि अन्धकारतिर धकेलियो । तत्कालै अर्को विद्यालय जान आर्थिक अवस्थाले भ्याउँदैनथ्यो । नपढौँ, साथीसंगी झोला बोकेर विद्यालय जान्छन् । रोएरै बिताइन् उनले त्यो वर्ष । “साथीसंगी हाँस्दै, रमाउँदै विद्यालय जान्छन्, आफू रोएरै घरमा बस्नुपर्छ । फेरि घरमा आमाबाबाको राम्रो भए पनि त हुन्थ्यो नि !,” नोस्टाल्जिक भइन् उनी ।
० ० ०
अर्को वर्ष नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदैथियो । उनले सुनिन्– जोरपाटीमा स्कुल खुलेको छ, सय रुपैयाँमा पढाइन्छ । सय रुपैयाँमा एउटा किताब आउँदैन । सय रुपैयाँ लिएर बजार गयो एक छाक पुग्ने तरकारी पाउन मुस्किल हुन्छ । यस्तो महँगो बेलामा सय रुपैयाँमा पढाउने कस्तो विद्यालय होला ? उनकी आमा चित् खाइन् । त्यसो त उनको पढाइ तेजिलो भएकाले अघिल्लो विद्यालयमा पनि छात्रवृत्तिमै पढेकी थिइन् । वर्षको सय रुपैयाँमात्रै बुझाए पुग्ने भएकाले अँध्यारोतर्फ धकेलिएको उनको शैक्षिक जीवनमा पुनः घामले चिहाउने मौका पायो ।
तर, उनले त्यहाँ दुई कक्षा मुनि झर्नुपर्यो । दुई कक्षामा भर्ना भइन् उनी ।
समता शिक्षा निकेतन उनको जीवनको शैक्षिक खुट्किलो मात्र बनेन, मानसिक पीडा दूर गराउने उपचार केन्द्र पनि । कारण समतामा उनीजस्तै दीन–दुःखी, गरिब, विपन्न बालबालिकाहरू पढ्न आउँथे । बाबुआमाले दिएका शारीरिक यातनाका प्रतिबिम्बहरू हातखुट्टा, निधार कहाँ मात्रै हुँदैनथे ! र पनि तिनीहरू हाँसीखुसी खेलिरहन्थे । कैदीहरू उन्मुक्त भएझैँ, यातना शिविरबाट बाहिर निकालिएझैँ खुसीले फुरुङ तिनको अनुहारमा हाँसो अचम्मसँग फिँजिएको हुन्थ्यो । “आफूजस्तै दुःखी भेटेपछि मान्छेले आफ्नो पीडा बिर्संदो रहेछ, सायद । मैले पनि बिस्तारै पीडा भुल्दै गएँ,” उनको अनुहार घाम ओझेल परेपछिको आकाशजस्तै देखियो, घुर्मैलो ।
त्यही वार्षिक सय रुपैयाँले उनको भाग्यरेखा कोरिदियो । अनगिन्ती सम्भावनाका बेल फोरिदियो । ८८.७५ प्रतिशतका साथ विशिष्ट श्रेणीमा उनले एसएलसी उत्तीर्ण गरिन्, ०६६ सालमा ।
‘अनपढ’ आमाले उनको खुसीमा अर्को लाली त के थप्न सक्थिन् र तैपनि भनिन्– ला ! पाँच रुपैयाँ मिठाइ किनेर मुख गुलियो पार् । अर्काले लगाएको मैला लुगा सुकिल्याएर उजिल्याएकी थिइन् उनले भावनाको भविष्य । ज्याला मजदुरी गरेर मलजल गरेकी थिइन् छोरीको शिक्षादीक्षा ।
छोरीकै भविष्यका लागि सिंगै जीवन ‘लिलाम’ गरेकी आमाले खुसी बाँड्न किन अतिरिक्त रुपैयाँ दिनुपथ्र्यो र ! र पनि चुपचाप ग्रहण गरिन् भावनाले । सर्टिफिकेट होइन, आमाबाबुको खुसी छोराछोरीको उपलब्धि हो ।
० ० ०
भावना जन्मिएपछि आमाले प्रताडना बेहोर्नुपर्यो । त्यो पनि खुसी दिन्छु भनेर भित्¥याएको प्रिय मान्छेबाटै । भावना सम्झिन्छिन्, “बाल्यकाल त आमाको आँखाको आँसु पढेरै व्यतीत गरेँ । पढ्न भनेर पुस्तक त पल्टाउँथे, तर आँखा आमाको अनुहारमा पुगिहाल्थ्यो,” किताब आँसुले नभिजेको दिनै थिएन भन्दा हुन्छ उनको ।
रातोदिनको घरझगडाले उनमा ठूलो मानसिक अघात पर्यो । तर, कारण उनले कहिल्यै थाहा पाइनन् । पाउन् पनि कसरी ? उनको बालसुलभ मस्तिष्कले कति नै ठम्याउन सक्थ्यो र !
दुई बहिनी पनि थपिएपछि उनले आफैँ अनुमान गरिन्, “बाबुले छोरी नजिन्मएको आक्रोश पोख्नुभएको हो कि !”
“छोरो नजन्मनुमा आमाको के दोष थियो र बुबाले पटकपटक रोष पोख्नुभयो ?” अचानक उनका गह भरिए, अनुहारमा भावुकता थपियो ।
छोरो नजन्मिएवापत आमाको बिहेपछिका कयौँ दिन रोएर बित्यो । छोरो नजन्मिएर पाउन नसकेको भन्दा ठूलो खुसी अहिले छोरी भावनाले दिएकी छन् । आमाको अनुहारमा फुलेको सुनाखरीले भावनाको जीवन मगमगाएको प्रतीत हुन्छ । छोरा खोज्ने बाबुलाई यो भन्दा ठूलो जवाफ अरु केही हुन सक्दैन ।
० ० ०
उनका बुबा उनीहरूसँग टाढिएको दशक बितिसकेको छ । खोज खबरै गर्दैनन् । बाबुले छोडेपछि माउबिनाको चल्लाझैँ चार आमाछोरी भीमकाय अँध्यारोतिर धकेलिए । आँसु पिएरमात्रै बाँच्नुपर्ने अवस्था पनि आइलाग्यो ।
बाबुले छाडेपछि आमा अर्काको घरमा भाँडा माझ्न जान थालिन् । “आमाले शिशिरयामको ठन्डीमा राति अबेरसम्म भाँडा माझेर, लुगा धोएर हासिल गरेको उपलब्धि हो यो,” मातृभक्ति आँखामा छचल्कियो उनको ।
खुसी थमाउने ‘एन्जेल’
कसैको उपलब्धिको पछाडि कसैको त्याग या समर्पणको पनि हात हुन्छ– यो दार्शनिक सच्च्याइ भावनको जीवनमा पनि लागु भएको छ ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरिसके पछिको एकदिन, उनी अबेरसाँझ कोठा फर्किएकी थिइन् । प्रवेशिका परीक्षामा विशिष्ट श्रेणीमा पास भएपछि उनलाई थुप्रै कलेजले निःशुल्कवृत्ति, छात्रवृत्तिमा पढाउने प्रस्ताव गरेका थिए । त्यसैका लागि अन्तर्वार्तामा जाँदा उनी ढिला घर पुगेकी थिइन् ।
घरमा जाँदा अनौठो दृष्य देखिन् । दुई बहिनी भुईंमा किताब राखेर घुँडामुख गरेर पढ्दै थिए भने छेवैमा बसेकी सेता वस्त्र लगाएकी महिला आमाको पिल्पिलाउँदो अनुहार हेरिरहेकी थिइन् । आमा सुँक्सुकाउँदै आफ्नो बह पोखिरहेकी थिइन् ।
घाम पनि अप्ठ्यारो मानेर छिर्ने साँघुरो कोठा, रित्ता भाँडाकुँडा गरिबीको साक्षी बनिरहेका थिए । शिक्षकले दिएको पाठको रटान लगाइरहेका दुई बालबालिकाले पढ्ने चाहना मुखरित गरिरहेको थियो ।
मदर टेरेसाको पथीक ‘सिस्टर निर्मला फाउन्डेसनमार्फत’ उनको ‘अभागी मकान’मा ती विदेशी महिला पुगेकी रहिछन् । श्वेत वस्त्र पहिरिएर समाजसेवामा दत्तचित्त रहने भएकाले होला, भावनाले ती स्पेनिस महिलालाई एन्जेल अर्थात् परी भनेर बोलाउँदि रहिछन् ।
मीनाको करुण कहानी सुनेपछि विदेशी महिला द्रवीभूत भइछिन् र भनिछन्, “म तिमीहरूको परिवारलाई सहयोग गर्छु । बालबालिकोको शिक्षामा सघाउँछु ।”
११–१२ ट्रिनिटीले पूर्ण छात्रवृत्तिमा सघाउँछु भनेको र दुई बहिनी समतामै पढिरहेकाले भावनाले शिक्षामा तत्काल सहयोगको आवश्यकता महसुस गरिनन् । भनिन्, “अहिले जसोतसो चलिरहेको छ, पछि केही पर्यो भने खबर गर्छौं ।”
सहयोगका वचनवद्धतासँगै ती महिलाले हिँड्नेबेलामा एउटा कागजको चिर्कटोसमेत थमाइन् । जसमा उनले आफ्नो घर, इमेल ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरेकी थिइन् ।
० ० ०
११ कक्षामा भर्ना हुँदा उनीसँग चिकित्सक बन्ने लक्ष्य थिएन । ट्रिनिटीले आवासीय सुविधासमेत दिएको थियो । होस्टल पढ्दा उनको थुप्रै साथीसँग बसउठ भयो । तर, ती सबैको आकांक्षा चिकित्सक नै बन्ने थियो । “‘प्लस टु’ सकेपछि तँ के पढ्ने ?,” साथीहरू खो¥याउँथे । तर, उनका ओठ उघ्रन मान्दैनथे ।
यो बन्छु भनेर सोच्न थाल्यो आँखा अघिल्तिर टीठलाग्दो गरिबी खडा हुन्थ्यो र तर्साउन थाल्थ्यो । सपनाबाट लखेटिनु भन्दा सपनै नदेख्नु उत्तम ठानेर उनी ‘भाग्य भरोसा’मा छाडिदिन्थिन् सबै ।
कक्षा १२ सक्ने बेलासम्म त उनको दिमागमा पनि चिकित्सक बन्ने सपनाले राज गरिसकेछ, थाहै नदिई ।
दिमागमा स्पेनकी महिलाले हिँड्ने बेला भनेका कुरा सम्झना आयो । ११–१२ कस्तो हुन्छ भनेर उनले त्यतिबेला मुख फोरेकी थिइनन् । त्यसो त स्पेनिस महिलाले ट्रिनिटी पढ्दा होस्टेलमै आएर ‘असुस’ ब्रान्डको ल्यापटप दिएकी थिइन् र ‘राम्रोसँग पढ है’ भनेर बिदा भएकी थिइन् ।
प्लस टूमा राम्रै प्राप्तांक ल्याएपछि उनले आईओएममा पनि ‘इन्ट्रान्स’ दिइन् । सकेसम्म छात्रवृत्ति पाए अर्कालाई किन दुःख दिनु ? यही सोचेर उनले स्पेनी महिलालाई सुरुमै अनुरोध गरिनन् ।
छात्रवृत्तिमा नाम ननिस्किएपछि उनी झस्किइन्– अल्पायुमै सपनाको देहावशान हुने भो । चिकित्सक बन्न नपाउने भएँ म ।
स्पेनी महिलासँग उनको परिवारको सम्पर्क निरन्तर भइरहेको थियो । त्यसैले उनले अठोट गरेर भनिन्, “सरकारीमा नाम निस्किएन, प्राइभेटमा पैसा तिरेर त पढ्न पाइन्छ, हामीसँग त्यो सामथ्र्य छैन, कसो गर्ने होला ?”
स्पेनी महिलाले सुरुमा त भनिन्, “महँगो रहेछ !”
उलने वचन दिइसकेकाले चिकित्सक पढाउन तत्परता देखाइन् र उनलाई सुरुमा पाँच लाख तिरेर काठमाडौँ विश्वविद्यालयअन्तर्गत जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा भर्ना गरिदिइन् । पाँच वर्षको निरन्तरको मिहिनेतपछि उनले भर्खरै बीडीएस पास गरेकी छन् । र, इन्टर्नको तयारीमा छिन् ।
बीडीएस उत्तीर्ण गरेको क्षण उनलाई सपनाजस्तो लाग्यो रे ! चिकित्सक पढ्ने सपना शायदै पूरा हुन्छ, उनले सोचेकी थिइन् ।
तर, स्पेनी महिला भगवानकै रूप धारण गरेर उनको जीवनमा आइन् र त्यागको प्रतिमूर्तिका रूपमा खडा भइन् ।
पाँच लाख बुझाएपछि उनको धमनी टालिएझैँ भयो । मुटु ढक्क फुल्यो– पढ्न सकिन भने त मरेकै जुनी पो हुन्छ !
चुल्ठो कसेर पढ्न थालिन् । स्पेनी महिला बेलाबखत नेपाल आउँथिन्, अनेक सम्भावना देखाउँथिन् । कहिले हप्काउँथिन्, उत्तिकै माया पनि गर्थिन् । उनैको छत्रछायामा भावनाको चिकित्सक बन्ने सपना अन्ततः पूरा भयो । सुरुमा पाँच लाख र दुई वर्षअगाडि १७ लाख गरी २२ लाख स्पेनी महिलाले बेहोरिन् ।
अर्काको घरमा भाँडा माझेर, दुःखका बलिन्द्रधारा आँसु झारेर छोरीलाई चिकित्सक बनाइछाड्ने आमाको समर्पणले उनलाई डक्टरको उपाधि चुमायो ।
० ० ०
सपनालाई ओछ्यान बनाएर सुते जिन्दगीले रछ्यानमा पुर्याउँछ । यो मान्यतामा दृढ छिन् उनी । सपनै नबनाएर कृत संकल्पित रहे पनि उनी दन्तचिकित्सक बनिन् । तर उनले त्यसलाई सफलता मानेकी छैनन् । “यो मेरो ‘अचिभमेन्ट’ होइन । जबसम्म मैले हासिल गरेको सफलताले समाजलाई केही दिँदैन । त्यतिबेलासम्म मैले गर्व गरिहाल्नुहुँदैन,” दार्शनिक जवाफ पनि दिन्छिन् उनी ।
त्यसका साथै वृद्ध लयमा ढल्कँदै गरेकी आमा, उनैमा निर्भर दुई जना बहिनीको भविष्य । यी कर्तव्य पूरा गर्न र निभाउन सक्ने नहुञ्जेल उनले केही पाएको, भएको अनुभूत पनि गर्दिनन् रे ।
जीवनमा पछाडि फर्कने छुट छैन
रातोदिनको ‘टर्चर’ र पारिवारिक कलहले उनलाई बिहे गरेर बाटो लागूँ नलागेको पनि होइन । तर, परिस्थितिसँग पौँठेजोरी नखेली सफलता हात लाग्दैन भन्नेमा उनी दृढ संकल्पित थिइन् र अविचलित रहिन् । यही हो उनको सफलताको सोपान ।
अन्तिममा मैले कुराकानी बिट मार्दै अब के इच्छा छ ? भनेर सोधें । ‘इच्छाको समाप्ति मृत्युसँगै हुन्छ’ दार्शनिक प्रतिउत्तरसँगै उनले भनिन्, “एकपल्ट ‘करिकुलम भिटा’मा विदेशी डिग्री थप्न मन छ ।”
जाँदाजाँदै सोधेँ– विदेशमै हराउनु त हुन्न ?
“नाम र परिचय यहीँको माटोले दियो, बाटो भुलेर विदेशमै अल्मलिनु छैन,” अनुहारमा जूनको आभा छायो । पोखरा जान हतार भएकाले होला, हात हल्लाएर बिदा भइन् उनी ।
प्रतिक्रिया दिनुहोस